
अष्ट्रेलियामा आगलागीमा परेर झण्डै ५० करोड (४८० मिलियन भन्दा धेरै) जंगली जनावर तथा पंक्षी मरेका छन् ।
सिड्नी विश्वविद्यालयको ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले सार्वजनिक गरेको रिपोर्ट अनुसार अष्ट्रेलियाको आगलागीमा ४८० मिलियन जनावर तथा पंक्षी मरेको बीबीसीले उल्लेख गरेको छ । जसमा स्तनधारी पशु, पंक्षी र घस्रने जीव पनि समावेश छन् ।
अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन् ।
सेप्टेम्बरदेखि डढेलोले अस्ट्रेलियामा कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा १ हजार २ सय घर डढेलोमा परेर नष्ट भएका छन् ।
तापक्रम र हावाको गतिमा कमी र हल्का वर्षा भएपछि भिक्टोरिया र न्यु सायथ वेल्सको अवस्था भने आइतबार केही सहज भएको अधिकारीहरुले बताएका छन्। यद्यपि प्रशासनले भने सो क्षेत्रमा विद्यमान खतरा भने कम नभएको चेतावनी दिएको छ।