
काठमाण्डौ – सामुदायिक वनका अभियन्ता निलप्रसाद भण्डारीको ८२ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
भण्डारीको काठमाण्डौको कोटेश्वरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको तत्कालीन ठोकर्पा गाविसका पूर्व प्रधानपञ्च हुँदा भण्डारीले २०२९ सालमा स्थानीय स्तरबाटै सामुदायिक वनलाई जोगाउन र संरक्षण गर्न सकिन्छ भनेर अभियानको सुरुवात गरेका थिए ।
विश्वमा नै सामुदायिक वनको उद्गमस्थलको रुपमा उनले सुरुवात गरेको ठोकर्पाको सामुदायिक वनलाई लिइने गरिएको छ । तत्कालीन प्रधानपञ्च निलप्रसाद भण्डारीलाई सरकारले ०७३ मा सामुदायिक वनको अभियन्ता घोषणा गरेको थियो ।
भण्डारीको ‘ठोकर्पा सामुदायिक वन : विश्वको पहिलो अभियान’ नामक पुस्तक प्रकाशित छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन)ले भण्डारीको निधनले स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।