सामुदायिक वन उपभोक्ता समूहले रोके नारायणगढ–बुटवल सडक विस्तारको काम

काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तारका लागि थालिएको रुख काट्ने काम स्थानीय समुदायको अवरोधका कारण रोकिएको छ । सामुदायिक वन उपभोक्ता समूहले सडक छेउमा काटिएका रुखहरु आफूले पाउनुपर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।

वन डिजिभन कार्यालय नवलपुरले गएको पुस ८ गते रुख कटानको पूर्जी दिएपछि धमाधम रुख काट्न थालिएको थियो । कावासोती नगरपालिका–२ को शिव सामुदायिक वन उपभोक्ता समितिले काटिएका आफ्नो हुनुपर्ने भनेपछि काममा अवरोध आएको हो ।

डिभिजन वन कार्यालय नवलपुरले सरकारी सडक छेउको रुख समुदायलाई दिन नसकिने जनाएको छ ।

१ सय १३ किलोमिटर लामो नारायणगढ–बुटवल सडक विस्तारको काम निकै सुस्त गतिमा भइरहेको छ । समयमै ‘साइट क्लियरेन्स’ गर्न नसक्दा काम हुन नसकेको हो । निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सनले उपकरण र कामदार ल्याइसकेको छ । वनको काठको विषयमा विवाद हुँदा अहिले काम रोकिएको हो ।

प्रकाशित मिति : 12 जनवरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस