पर्यटक भित्र्याउने पहलमा सामुदायिक वन

काठमाण्डौ – सामुदायिक वन पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेका छन् । देशभर विभिन्न सामुदायिक वनले पर्यापर्यटनका लागि विविध योजना बनाएर काम गरिरहेका छन् । पछिल्लो समय कैलाली जिल्लाको टीकापुर– ३ मा रहेको जनशक्ति सामुदायिक वनले पर्यटन विकासका लागि उदाहरणीय काम गरिरहेको छ ।

यो सामुदायिक वनले पर्यटनमार्फत आम्दानी गर्नका लागि विविध योजना बनाइरहेको छ । सामुदायिक वन भित्र पर्यटकहरुलाई आकर्षित गर्न जनशक्ति सामुदायिक वनले वन भित्र मचान निर्माण, बगैँचा निर्माण, स्विमिङ पुल निर्माण, माछा पोखरी निर्माण र वरिपरीका दृश्य हेर्नका लागि भ्यूटावर निर्माणको पनि काम सुरु गर्न लागेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घ बहादुर तिरुवाले बताए ।

यसका साथै सामुदायिक वन भित्र नै पर्यटकहरुलाई खान र बस्नका लागि बाँसका साना साना घर निर्माण गर्ने योजना पनि रहेको अध्यक्ष तिरुवाले जानकारी दिए ।

जंगल तथा जडिबुटि अवलोकन गर्ने पर्यटकहरुका लागि यो सामुदायिक वनले यस किसिमको सुविधा दिन लागेको हो । ‘सबै काम सम्पन्न गर्नका लागि अब बढीमा एक वर्ष लाग्ला, त्यसपछि हाम्रो सामुदायिक वनमा पर्यटनमार्फत पनि आम्दानी हुनेछ ।’ समूहका अध्यक्ष तिरुवाले भने ।

प्रकाशित मिति : 16 जनवरी 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस