
काठमाण्डाै – पश्चिमी वायुको प्रभावले देशका धेरैजसाे भूभागमा वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी शुक्रबारसम्म जारी छ । पानी पर्ने क्रम शुक्रबार साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र सिमरामा १८ मिलिमिटर पानी परेको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ ४ गते (शनिबार)
दिउँसो : देशभर आन्शिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
माघ ५ गते (आइतबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।