
सुर्खेत – सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ स्थित अम्बिकादेवी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सामुदायिक वन परीसरमा टिमुरका विरुवा हुर्काएर बिक्री गरी मनग्य आम्दानी गरिरहेको छ ।
सामुदायिक वन परिसरमा नर्सरी नै स्थापना गरेर यो सामुदायिक वनले टिमुरका विरुवा हुर्काइरहेको सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव ध्रुवराज चालिसेले जानकारी दिए । उनले भने ‘यहाँ हुर्काइएको एउटा अलि ठूलो विरुवा प्रतिओटा ८० रुपैयाँमा बिक्री हुने गरेको छ । अलि मसिनो विरुवाचाहीँ ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’
गएको असारमा करिब १५ हजार टिमुरका विरुवा यो सामुदायिक वनले बिक्री गरेको थियो । अहिले अझै पनि २२ हजार टिमुरका विरुवा बिक्रीका लागि योग्य भएको उपभोक्ता समितिका सह–सचिव चालिसेले जानकारी दिए । उनले थप भने ‘फेरि हामीले नयाँ विरुवाको लागि ब्याड राखेका छौँ ।’
टिमुरको विरुवा हुर्काउनका लागि यहाँ २ ओटा टनेला बनाइएको छ । अलि ठूला भएका तथा हुर्किसकेका विरुवा एक ठाउँमा सञ्चित गरेर फेरि नयाँ विरुवा हुर्काउन सुरु गरिएको हो । सह–सचिव चालिसे भन्छन् ‘हामीले टिमुरका विरुवा हुर्काएर राम्रै आम्दानी गरिरहेका छौँ, हाम्रो सामुदायिक वन अलि गर्मी ठाउँमा भएकाले पनि यहाँ टिमुर उत्पादन गर्न सकिँदैन । त्यसकारण यहाँ टिमुरका विरुवामात्र हुर्काइने गरिन्छ ।’
जडिबुटी तथा अन्य उत्पादनमा जोड दिन सके सामुदायिक वनमा राम्रो आम्दानी हुने यो सामुदायिक वन उपभोक्ता समितिको निष्कर्ष छ । यो सामुदायिक वनबाट लगभग ६१० घरधुरी लाभान्वित रहेका छन् । अम्बिकादेवी सामुदायिक वन १३९ दशमलव ८७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।