विश्व सिमसार दिवस आज

काठमाण्डौ – प्रत्येक वर्ष २ फेब्रुअरीमा विश्व सिमसार दिवस संसारभर मनाइन्छ  । नेपालमा पनि केही वर्षदेखि विश्व सिमसार दिवस विशेष कार्यक्रम गरी मनाइँदै आइएको छ । यो वर्ष सिमसार दिवको नारा सिमसार र जैविक विविधता तय गरिएको छ । यस दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले पोखरामा कार्यक्रमको आयोजना पनि गरेको छ ।

सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । पानी नसुक्ने दलदले वा छिपछिपे जमिनलाई सिमसार भनिन्छ । खासगरी ताल, तलैया, नदीकिनार, दह, दलदले जमिन, सिम, जरुवा, नुनिलो तथा क्षारयुक्त पानी रहने ६ मिटरभन्दा कम गहिराइका भू–भाग नै सिमसार हुन् ।

जैविक विविधताले भरिपूर्ण सिमसारलाई जलचरको प्रमुख वासस्थानका रूपमा लिइन्छ । शुद्ध जलसहितको पारिस्थितिक प्रणाली सञ्चालनका लागि मात्र नभएर संस्कृति, परम्परा, पर्यटन, अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा सिमसार क्षेत्रको महत्व रहेको छ ।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो ।

सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ । जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिँउ पग्लेर काला पहाड बनिरहेका बेला सिमसार क्षेत्रको संरक्षण र प्रचार प्रसारको महत्वपूर्ण भूमिका रहेको विज्ञहरु बताउँछन् ।

पछिल्लो समयमा खोला, नदीमा ढल मिसाउने प्रवृत्तिका कारण पनि सीमसार क्षेत्र जोखिममा रहेको छ । मानवीय क्रियाकलापकै कारण सिमसार क्षेत्र खुम्चिँदै गएको छ । सिमसार क्षेत्र जोगाउनका लागि पनि यो क्षेत्रको प्रचार प्रसार र संरक्षण गरिनु आवश्यक रहेको छ ।

प्रकाशित मिति : 2 फेब्रुअरी 2020, आइतवार
प्रतिक्रिया दिनुहोस