मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डाै – पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विहीबार देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : 26 फेब्रुअरी 2020, बुधवार
प्रतिक्रिया दिनुहोस