सामाजिक सेवामा सामुदायिक वनको भूमिका महत्वपूर्ण–अध्यक्ष पाठक

काठमाडौँ, असोज ६ । सामाजिक सेवा दिवसको उपलक्ष्यमा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशले मंगलबार भर्चुअल अन्तर्कृया गरेको छ ।

कार्यक्रममा वक्ताहरुले सामाजिक सेवा मार्फत समाज रुपान्तरण गर्न सकिने बताउँदै सामुदायिक वन उपभोक्ता समुहहरुले वन संरक्षणसँगै सामाजिक काममा पनि योगदान गरेको बताए ।

त्यसअवसरमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्र विशुद्ध रुपमा समाज सेवा भएको उल्लेख गर्दै सामाजिक सेवामा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वन क्षेत्रमार्फत रोजगारीको अवसर सिर्जनामा गरी आत्मनिर्भर बन्नुपर्ने मा पनि जोडदिनुभयो ।

अध्यक्ष पाठकले नीतिनिर्माण तहमा महासंघको महत्वपूर्ण भूमिका रहने भन्दै कानून निर्माणमा राज्यका तीनैवटा सरकारले तत्परता देखाउनुपर्ने खाँचो औंल्याउनुभयो ।

सामुदायिक रुपान्तरण र उद्यमशिलतामा वन र उपभोक्ताबीच अन्योन्याश्रित सम्वन्ध भएको वक्ताहरुको भनाई थियो । ‘सामाजिक क्षेत्र ः राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता” भन्ने यो बर्षको नारासहित अन्तर्कृया आयोजना गरिएको हो ।

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले सामुदायिक रुपान्तरण र उद्यमशीलताका क्षेत्रमा सामुदायिक वनको योगदानबारे प्रकाश पार्नुभएको थियो । वनबाट सिर्जना भएका रोजगारीका अवसरहरुको चर्चा गर्दै उहाँले आगामी चुनौतीहरुको सामना गरेर अघि बढ्नुपर्ने धारणा समेत राख्नुभएको थियो ।

अध्यक्ष सापकोटाले अहिलेको कोरोना महामारीमा संक्रमितका लागि बागमती प्रदेशमा एक दर्जनभन्दा धेरै सामुदायिक वनले भवन उपलब्ध गराएको र उपभोक्ता समुहहरुले समस्यामा परेकाहरुलाई राहत वितरण गरेको पनि जानकारी दिनुभयो ।

अन्तरक्र्रियाम गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी उपाध्यक्ष आरती पाठकले कोरोनाको महामारीका कारण कतिपय अभियान सञ्चालन गर्न नपाएको बताउनुभयो ।

वनविज्ञ गोविन्द पौडेलले पश्चिमी मुलुकमा सामुदायिक वन उपभोक्ता महासंघले जस्तो देशभर सामाजिक गतिविधि गर्ने प्रचलन नरहेको बताउनुभयो ।

सामाजिक सेवा दिवसको अवसरमा समाजकल्याण परिषदले मंगलबार नै गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समय र सम्पत्तिको त्याग नै वास्तविक समाजसेवा रहेको बताउनुभएको थियो । सरकार पुग्न नसकेको स्थानमा गैरसरकारी तथा सामाजिक संस्थाले उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रसंशा समेत गर्नुभयो ।

प्रकाशित मिति : 22 सेप्टेम्बर 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस