
काठमाडौँ, असोज ७ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक रुपान्तरणमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
सामाजिक सेवा दिवसका उपलक्ष्यमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं १ ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्नुहुँदै मन्त्री घिमिरेले सामाजिक काम गर्न चाहने सहयोगी संस्थाका पक्षमा प्रदेश सरकार सधैं सकारात्मक रहेको बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता महासंघसँग प्रदेश सरकारले सहकार्य र समन्वय गर्दै अघि बढ्ने पनि बताउनुभयो ।
त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका केन्द्रिय अध्यक्ष भारती पाठकले सरकारको उद्यमशीलताको लक्ष्य पूरा गर्न महासंघ पनि सहकार्य गरी अघि तत्पर रहेको धारणा राख्नुभयो ।
तीनै तहका सरकारसँग महासंघ सहकार्य गरेर अघि बढेको भन्दै उहाँले कोभिड १९ बाट उत्पन्न समस्या समाधानमा महासंघको अमूल्य योगदान रहेको जानकारी दिनुभयो ।
महासंघको लक्ष्य वन र वातावरणको संरक्षण मात्र नभई प्राकृतिक स्रोतमार्फत रोजगारीको अवसर सिर्जना गर्नु समेत रहेको उहाँले जानकारी दिनुभयो । उद्यमशीलताको लक्ष्य पूरा गर्न सरकारले थप नीति तथा योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
महासंघको प्रदेश नंवर १ का अध्यक्ष तुलसी संग्रौलाले सामाजिक प्रकोप व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता महासंघले महत्वपूर्ण भूमिका खेल्दै जाने बताउनुभयो ।
दिवसको उपलक्ष्यमा भएको अन्तर्कृया सम्पन्न गर्दै १ नं प्रदेश महासंघको वैठकसमेत जुममार्फत सम्पन्न भएको छ ।