सामुदायिक वन उपभोक्ता महासंघ सधैं जनताको पक्षमा उभिन्छ : अध्यक्ष पाठक

काठमाडौँ, असोज ७ । देशमा उत्पन्न प्राकृतिक प्रकोप, महामारी लगायत समुदायका अन्य समस्यामा सामुदायिक वन उपभोक्ता महासंघ सधैं जनताको पक्षमा उभिने महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ सुदुरपश्चिम प्रदेशले सामाजिक सेवा दिवसको उपलक्ष्यमा जुममार्फत आयोजना गरेको कार्यक्रममा अध्यक्ष पाठकले जनपक्षीय नीति, योजना र कानून आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले समुदायका हरेक जटिल परिस्थितिमा सेवा गर्ने संस्थाका रुपमा खडा भएर सहयोग गर्दै आएका छौँ ।”

सामुदायिक वनले अन्तर्राष्ट्रिय स्तरमा समेत देशको इज्जत राख्ने काम गरिरहेको उहाँले बताउनुभयो । महासंघका केन्द्रिय महासचिव बिर्खबहादुर शाहीले कोभिड १९ को विषम परिस्थितिमा सामुदायिक वन र महासंघले निर्णायककारी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । महासंघले उद्यमशीलतालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

केन्द्रिय सचिव ठाकुर भण्डारीले सामुदायिक वनले वातावरण संरक्षणमा पुर्याएको योगदानको महत्वबारे प्रकाश पार्नुभयो ।

कैलाली जिल्ला महासंघका अध्यक्ष कर्ण रावलले सामुदायिक वनले कोभिड १९ को रोकथाममा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो ।
सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष जगदीशचन्द्र अवस्थीले महासंघको थप भूमिका रहेको बताउनुभयो ।

सुदुरपश्चिम प्रदेशका सामुदायिक वन उपभोक्ताहरुले सामुदायिक वनमार्फत रोजगारीको प्रशस्त सम्भावना रहेको हुँदा तीनै तहका सरकारले सामुदायिक वनसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने औंल्याएका थिए ।

प्रकाशित मिति : 23 सेप्टेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस