वन महासंघ दिगो संगठनका रुपमा खडा भएको छ – मन्त्री रावल

कर्णाली, असोज ८ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सामाजिक वन उपभोक्ता महासंघ दिगो संगठनका रुपमा स्थापित हुन सफल भएको बताउनुभयो ।

कर्णाली प्रदेश महासंघले आज सामाजिक सेवामा सामुदायिक वनको योगदान विषयमा जुममार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै मन्त्री रावलले महासंघ दक्षिण एसियाका ठूलो संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य संगठनले महासंघले जस्तो पूर्ण सांगठनिक रुपमा काम गर्न सकेका छैनन् ।”

महासंघको सहयोगका लागि कर्णाली प्रदेश सरकार सदैव तत्पर रहेको उहाँले बताउनुभयो । महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले कर्णाली प्रदेश जडीबुटि, खानी, वनजङ्गल आदीमा पूर्ण रुपमा धनी रहेको प्रष्ट पार्नुभयो । उहाँले ती स्रोतमार्फत सो क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । “यहाँको स्थानीय सरकारले वन क्षेत्रमा क्रियाशील व्यक्तिको जिविकोपार्जनका लागि सहयोग गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित कच्चा पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गरेर देशलाई चिनाउनुपर्ने उहाँको तर्क छ । कर्णाली प्रदेश महासंघका अध्यक्ष घनश्याम शर्माले यो प्रदेशमा पूर्वाधारको विकास नगरेसम्म वन क्षेत्रको विकास गर्न नसकिने बताउनुभयो ।
उद्योग, वन तथा वातावरण कर्णाली प्रदेशका सचिव कृष्णप्रसाद आचार्यले कर्णालीमा रहेका सामुदायिक वनलाई सहयोग गर्न बताउनुभयो ।

सो कार्यक्रममा नगरपालिका संघका कोषाध्यक्ष घनश्याम पाण्डे, राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विक लगायत महासंघका केन्द्रिय महासचिव र सचिवले पनि आफ्नो विचार राख्नुभएको थियो ।

प्रकाशित मिति : 24 सेप्टेम्बर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस