
काठमाडौँ, असोज ९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले वन उपभोक्ता महासंघले महिलाको नेतृत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
महासंघले सामाजिक सेवा दिवसको उपलक्ष्यमा आज जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उहाँले यो संस्थाले महिलालाई उत्प्रेरणा दिने कामलाई वृद्धि गर्नुपर्ने जिकिर गर्नुभयो । “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो”, उहाँ थप्नुहुन्छ, “महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन सक्दैन ।”
महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको उहाँ बताउनुहुन्छ । मन्त्री अर्यालका अनुसार महिलाका निम्ति उनीहरुको जनसंख्याभन्दा बढी तालीम दिए पनि त्यो अनुसार व्यवसायिकतामा जान सकेको छैन । वनका क्षेत्रमार्फत महिलालाई लघुउद्यमशीलतामा लैजान महासंघले आगामी दिनमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वन उपभोक्ता महासंघले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा क्षेत्रको महिलाको नेतृत्व बढाउँदै लगेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।”
समाज कल्याण परिषदका सदस्य डा मणिराम बन्जाडेले महासंघ महिला नेतृत्वमा सबैभन्दा क्रियाशील संस्था रहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रलाई अब राष्ट्रिय गौरवको क्षेत्र बनाउन सरकार लागिपरेकाले यी संस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासंले यो अवधारणालाई अघि सार्नु प्रसंशनीय रहेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा महिलाको भूमिका व्यापक रहेको बताउनुभयो ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा जैरुले सुरुदेखि नै महासंघमा आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गर्नुभयो । उहाँले बाढीपहिरोले देशमा ठूलो धनजनको क्षति भएकाले त्यसतर्फ पनि महासंघको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । साथै ग्रामीण अर्थतन्त्र र ग्रामीण विकास मूल एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
सुदुरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचविना समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राख्नुभयो । वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक कार्यमा महिलाको भूमिका बढी भए पनि उनीहरुको कामको कदर हुन नसकेको दुखेसो पोख्नुभयो । उहाँले महिलामैत्री नीति बनाउँदै जान तीनै तहका सरकारलाई आग्रह समेत गर्नुभयो ।