केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज ११ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आइतबार प्रदेश नं १ र २ को केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखा जनाएको छ ।

भारतको बिहारमा बनेको न्युनचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको स्म्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “आइतबार बेलुकाबाट यी प्रणाली पूर्ण रुपमा हटेर जाने छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्तामा बाहिरिने मौसमविद्को अनुमान रहेको छ । यी अवधिमा कुनै नयाँ प्रणाली विकसीत नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ । हाल देशको प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति : 27 सेप्टेम्बर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस