
पोखरा, असोज १४ । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले हरियो वन कार्यक्रम अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं ३ मा रहेको वनपाले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध कोभिड १९ बाट प्रभावित पाँच विपन्न परिवारलाई रु १०/१० हजारका दरले रकम हस्तान्तरण गरेको छ ।
सो रकममार्फत उनीहरुको आयआर्जनका लागि उक्त रकम हस्तान्तरण गरिएको फेकोफन गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महासंघले विगतदेखि नै जिविकोपार्जन मात्र नभई सुशासन, वन डँडेलो सचेतना, लैङ्गिक हिंसाविरुद्धको अभियान लगातका कार्यक्रमहरु गर्दै आएको छ ।”
महासंघले घुम्ती कोष ऋण अन्तर्गत बाख्रापालन, कुखुरापालन, तरकारी खेती र किराना पसलका लागि सो रकम हस्तान्तरण गरेको हो । सो अवसरमा हरियो वन कार्यक्रमको दोस्रो चरणको पाँचौं वर्षमा गरिने कार्यक्रमका बारेमा छलफल पनि गरिएको थियो ।