
काठमाडौं, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रोेतमाथि मानिसको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७५ औं महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा अमेरिकाको न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जैविक विविधता संरक्षण गर्न दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गर्नुपर्ने बताउनुभयो ।
दृढ राजनीतिक इच्छाशक्ति र नवप्रवर्तनको प्रवर्द्धनसहित जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्नु आवश्यक भएकोमा प्रधानमन्त्री ओलीको भनाइ छ ।
जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताको प्रयासबीच समन्वय हुनुपर्ने पनि बताउनुभयो ।
प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अंग भएको बताउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्वबारे शिक्षा दिएको उल्लेख गर्नुभयो ।
जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको जानकारी दिनुभयो । उहाँले पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताउनुभयो ।