
नवलपुर, २४ असोज । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वनहरुलाई नमुना बनाउने कार्यक्रम अन्तर्गत मुसेडाँडा सामुदायिक वनमा विभिन्न कामहरु भइरहेका छन् ।
सो कार्यका बारेमा त्यहाँका संघीय सांसद तिलक महत र गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले सो वनको अवलोकन गर्नुभएको छ । सामुदायिक वनका अध्यक्ष देवबहादुर मल्लले सामुदायिक वन उपभोक्ता महासंघकोमा तीन वर्षमा भएको कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
सामुदायिक वनलाई नमुना सामुदायिक वनको रुपमा विकास गर्न २०७१ सालमा बनेको वन नीति अनुसारको कार्यलाई अगाडी बढाइएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै उहाँले सामुदायिक वन क्षेत्र भित्रको पोखरी संरक्षण, मुहान संरक्षण, नमुना प्लट निर्माण लगाएतको काम भइरहेको जानकारी उहाँले दिनुभयो ।
अनुगनको क्रममा सांसद महतले सरकारले विगतमा सामुदायिक वन माथि लगाउदै आएको कर हटाएको भन्दै सामुदायिक वनको पक्षमा हालको सरकार रहेको बताउनुभयो । देशको करिब ४५ प्रतिशत भू–भाग वन क्षेत्र पुग्नुमा सामुदायिक वन समुहको योगदान उच्च रहेको स्मरण गर्दै सामुदायिक वनको दिगो व्यवस्थापनको लागि सबै पक्ष एक हुनुपर्ने बताउनुभयो ।
सामुदायिक वनका अध्यक्ष मल्लले सम्पन्न भएका र हुने चरणमा रहेका कार्यक्रमको जानकारी गराए पश्चात सांसद महतले स्थलगत अनुगमन गर्नुभएको थियो ।
सो क्रममा उहाँले सामुदायिक वनको कार्यालय भवनसँगै रहेको पोखरीको अवलोकन गर्दै आन्तरिक पर्यापर्यटन प्रर्वद्धनको लागि ठोस योजना निर्माण गरेर आगाडी बढ्न सुझाव दिनुभयो । गण्डकी प्रदेश सभा सदस्य गाहाले विगतमा आफू संविधान सभा सदस्य रहेको समयमा पोखरीको वाल निर्माणको लागि ७५ हजार रुपैंयाँ सांसद कोषबाट उपलब्ध गराएको स्मरण गर्दै आगामी दिनमा समेत आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।
उहाँले सामुदायिक वनले दिगो वन व्यवस्थापन मार्फत वनलाई नमुना वनको रुपमा विकास गर्ने कार्य अगाडी बढाएकोमा प्रसंसा व्यक्त गर्दै आम उपभोक्तालाई वैज्ञानिक वन व्यवस्थापन भन्दा दिगो वन व्यवस्थापनको के–के कुराले ठिक छ भन्ने बारे बुझाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले सामुदायिक वनको नमुना प्लटको समेत अवलोकन गर्नुभएको थियो । सो क्रममा जिल्ला महासंघ नवलपुरका सदस्य मिना पाण्डेले डिभिजन वन कार्यालयबाट नमुना प्लटको काममा असहयोग भएको भन्दै वैज्ञानिक वनको नाममा रुखहरुको सटपट कटान भइरहको बताउनुभयो । उहाँले वैज्ञानिक वन बाहेकका सामुदायिक वनको कार्ययोजना अनुसार कार्य गर्न समेत जिल्ला वन कार्यालयले सहयोग नगरेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय सदस्य सिता खड्काले सामुदायिक वन उपभोक्ता समुहलाई नमुना बनाउने प्रयासको प्रसम्सा गर्दै दिगो वन व्यवस्थापन उपभोक्ताहरुको हितमा रहेकोमा जोड दिनुभयो ।
हुप्सेकोट गाउँपालिका स्थानीय महासंघका अध्यक्ष गुरुप्रसाद खनालले नमुना सामुदायिक वनले संरक्षण गरेको पोखरीको लागि गाउँपालिकामा पटकपटक योजनाहरु पेश गरिएको भएपनि प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुभयो ।