काठमाडौँ, असोज २५ : वैज्ञानिक वन व्यवस्थापनको कारण सामुदायिक वनभित्र रहेको काठ, दाउरा तथा अन्य वन पैदावार सामुदायिक वनले नै विक्रीवितरण गर्न पाउने माग सम्बोधन नभए सामुदायिक वन उपभोक्ता महासङ्घ आन्दोलनमा जाने चेतावनी दिएको छ ।
महासङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक वनको काठदाउरा सङ्कलन, ओसारपसार र विक्रीवितरण गर्ने सम्पूर्ण अधिकार सामुदायिक वन उपभोक्ता समूहको स्वयत्त अधिकारलाई सम्मान गर्दै कार्यान्वयन गर्न दिनुपर्ने माग सरकारसँग राखेको छ । “काठ सङ्कलन र विक्रिवितरण लगायतका विषयमा पटक–पटक हामीले सरकारसँग अपिल गरे पनि हालसम्म त्यसको सुनुवाई हुन सकेको छैन”, विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत उच्चस्तरीय छानवीन समितिले बुझाएको प्रतिवेदन सामुदायिक वनले उपभोग गर्दै आएको अधिकार सुनिश्चित गर्ने गरी कार्यान्वनमा ल्याउन समेत महासङ्घले अपिल गरेको छ ।