‘वनलाई वैज्ञानिक नाम दिएर उपभोक्तालाई अलमलमा पार्ने काम भयो’

परासी, असोज २६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका सचिव ठाकुर भण्डारीले वनलाई वैज्ञानिक नाम दिएर उपभोक्तालाई झन् अल्मल्याउने काम भएको बताउनुभएको छ ।

जिल्ला महासंघ परासीले आयोजना गरेको सामुदायिक वनमा नीतिगत छलफल विषयक कार्यक्रममा बोल्नहुँदै सचिव भण्डारीले वन व्यवस्थापनका नाममा सामुदायिक वन उपभोक्ता समूहमाथि झन अन्याय भएको बताउनुभयो । “काठ कटान तथा ओसारपसारका विषयमा महासंघले सरकारलाई ध्यानाकर्षण गराइरहेको छ”, उहाँले भन्नुभयो ।


सरकारले उपभोक्ताको अधिकारलाई कुण्ठित पारेको बताउँदै उहाँले त्यसका विरुद्धमा महासंघ सधैं प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला महासंघ परासीका अध्यक्ष कमल परियारले जिल्लामा ६३ वटा सामुदायिक वन क्रियाशील रहेको जानकारी दिनुहुँदै ती सामुदायिक वनका उपभोक्ताहरुलाई विभिन्न किसिमका तालीम आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा परासी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कर्णबहादुर रोनले सामुदायिक वनको वन पैदावार उपभोगका विषयमा पहिलेदेखि नै स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहबीच विवाद सिर्जना हुँदै आएको बताउनुभयो ।

प्रकाशित मिति : 12 अक्टोबर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस