वनमा उद्यमशीलताका लागि सरकारले सहज नीति बनाउनुपर्छ : अध्यक्ष पाठक

काठमाडौँ, असोज २९ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले वनमार्फत उद्यमशीलताका लागि सरकारी स्तरबाट सहज नीति आवश्यक रहेको बताउनुभएको छ ।

महासङ्घमा आवद्ध विभिन्न जिल्लाका पदाधिकारीलाई महासङ्घले आज दिएको घरेलु उद्यम सम्बन्धी भर्चुअल तालिममा अध्यक्ष पाठकले उद्यम सञ्चालनमा सानादेखि ठूला विषयमा समस्या उत्पन्न हुँदै आएको बताउनुभयो । उहाँ भन्नुभयो,“नीति बनाउँदा गरीब, विपन्न, महिला र पछाडि परेका समुदायलाई माथि उठाउने किसिमबाट बनाउनुपर्छ ।”

महासङ्घका महासचिव बिर्ख शाहीले वनमा आधारित नीतिगत सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो । विभिन्न उद्यम सञ्चालन गर्दा सुरुवाती व्यवस्थापनमा मात्र केन्द्रित भएकाले त्यसलाई दीर्घकालीन रुप दिन नसकेको उहाँको ठम्याइ छ । वन उद्यमलाई दीगो रुप दिन भावी योजर्ना समेत सुरुवाती चरणमा बनाएर अघि बढ्नुपर्ने सचिव शाहीको भनाई छ ।

महासङ्घका सचिव ठाकुर भण्डारीले नेपाली बजार बिचौलियाको हातमा रहेकाले सरकारी स्तरबाटै उत्पादित सामानको बिक्रीवितरणमा ठोस नीति ल्याउनु आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले वन उद्यमका समस्या र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गर्नुभएको थियो ।

त्यसअवसरमा सहभागीहरुले स्थानीय तहका जनप्रतिनिधिहरुलाई वन उद्यमसम्बन्धि छलफलमा सहभागी गराउनुपर्ने, सरोकारवाला निकायसँग छलफल अगाडि बढाउनुपर्ने, स्थानीय महासङ्घमार्फत सहकारी सञ्चालन गरी जिल्लाभर काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, उद्यम सञ्चालनमा देशभर एकैखाले ऐन बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : 15 अक्टोबर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस