‘वन्यजन्तुमार्फत पर्यापर्यटनको विकास गरी समृद्धितर्फ जानुपर्छ’

काठमाडौँ, असोज ३० । वन्यजन्तुमार्फत पर्यटनको विकास गरी समृद्धितर्फ जानुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव बिर्ख शाहीले बताउनुभयो ।

महासङ्घले सामुदायिक वन उपभोक्ता समूह र महासङ्घलेका पदाधिकारी केन्द्रित गरी आज भर्चुअल रुपमा सञ्चालन गरेको ‘सामुदायिक वनमा वन्यजन्तुमा आधारित पर्यापर्यटनको विकास’ विषयक जनवकालत योजना तर्जुमा तालीममा उहाँले मानव वन्यजन्तु द्वन्द कम गर्न यससँग सम्बन्धित पर्यटनले महत्वपूर्ण भूमिका खेल्न सक्ने जिकिर गर्नुभयो । “वन्यजन्तुको माध्यमबाट पर्यटनको विकास गर्न नीति बनाएर जानु आवश्यक छ”, उहाँ थप्नुहुन्छ, “यो विषय सामुदायिक वन उपभोक्ता महासङ्घको प्रमुख चुनौती पनि हो ।”

वन्यजन्तुमा आधारित पर्यापर्यटनमार्फत धेरै युवालाई रोजगारी पनि दिन सकिने उहाँले प्रष्ट्याउनुभयो । महासङ्घका सचिव ठाकुर भण्डारीले सामुदायिक वनमा विभिन्न वन्यजन्तुको बाहुल्यता रहेकाले वन्यजन्तुमा आधारित पर्यटन आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

महासंघका कार्यकारी निर्देशक डा सीता अर्यालले नेपालमा वन वृद्धि हुँदै जाँदा वन्यजन्तु पनि वृद्धि हुँदै आएकोले वन्यजन्तुको व्यवस्थापन गरी समुदायको आर्थिक उपार्जनसँग जोड्न सकिने बताउनुभयो । “यसबाट एकातिर जैविक विविधताको संरक्षण अर्काेतिर समुदायको समृद्धिमा सधाउ पुग्न सक्छ”, उहाँले भन्नुभयो । यही कुरालाई मध्यनजर गरी सामुदायिक वनमा वन्यजन्तुमा आधारित पर्यापर्यटन विकास गर्न बनेका नीतिगत समस्याहरु हटाउन वकालत योजना तयार पार्ने उद्देश्यले यो तालीम आयोजना गरेको उहाँले बताउनुभयो ।

तालीममा महासङ्घका कानूनी सल्लाहकार दिलराज खनालले कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गर्नुभएको थियो । सो अवसरमा सहभागीहरुले सामुदायिक वनमा चिडियाखाना सञ्चालन गर्नुपर्ने, सरकारी स्तरबाटै बलियो नीति बनाउनुपर्ने, स्थानीय निकायले ऐनको पालना भए नभएको निगरानी गर्नुपर्ने, स्थानीय निकायले वन्यजन्तुको बाहुल्यता भएको क्षेत्रको पहिचान गरी ती क्षेत्रको विकास गर्नुपर्ने, तीनै तहका सरकारले आवश्यक ऐन नियमहरु बनाउनुपर्ने, वन उपभोक्ता समूहहरुले आवश्यक समन्वन र अनुभव आदानप्रदान गर्नुपर्ने, स्थानीय स्तरमा बनेका साना चिडियाखाना र रेस्क्यु सेन्टरमा खाना र औषधिको व्यवस्था सरकारले गर्नुपर्ने, अहिले बनेका वन ऐनबारे कानूनी साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

प्रकाशित मिति : 16 अक्टोबर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस