सरकारले सामुदायिक संगठनहरुसँग सहकार्य गर्नुपर्नेमा फेकोफनको जोड

काठमाडौँ, कात्तिक २ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष भारती पाठकले सरकारले फेकोफन जस्ता समुदाय केन्द्रीत विभिन्न दीगो सङ्गठनहरुसँग सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

महासङ्घले आज आयोजना गरेको समुदायमा आधारित जलवायु अनुकूलनमा सामुदायिक वनको भूमिका र योगदान विषयक भर्चुअल जनवकालत∕पैरवी योजना तर्जुमा तालिममा अध्यक्ष पाठकले दिगो विकास र साझेदारीमा सक्रिय संघसंस्थाहरुसँग सरकारले सहकार्य गरेमा त्यसले विकास र चेतना अभिवृद्धिमा पनि सघाउने बताउनुभयो ।

निश्चित समयका लागि आएका विभिन्न सङ्घसंस्थाले दीगो योजना बनाउन नसक्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, “जुन लक्षित समूहका लागि योजना बनाइन्छ, सर्वप्रथम उनीहरु पूर्ण रुपमा जानकार हुनु आवश्यक छ ।”
स्थानीय महासंघले आफ्ना हरेक योजनाहरु स्थानीय सरकारसँग जोडेर बनाउनुपर्ने त्यसैअनुसार अघि बढ्नुुपर्नेमा समेत अध्यक्ष पाठकले जोड दिनुभयो ।

महासंघका महासचिव बिर्ख शाहीले जलवायु परिवर्तनबाट स्थानीय समुदायमा परिरहेको असरलाई न्यूनीकरण गर्न सरकारले अन्तर्राष्ट्रिय रुपमा आर्थिक र प्राविधिक सहयोग लिनु जरुरी रहेको बताउनुभयो ।
यस्तै महासंघका सचिव ठाकुर भण्डारीले जलवायु अनुकूलनको विषय महासङ्घका लागि नयाँ विषय नभएपनि योजनालाई कार्यान्वनमा लैजान यससँग काम गर्ने सम्बन्धित संस्था र स्थानीय सरकारसँग सुमधुर सम्बन्ध हुनुुपर्ने बताउनुभयो ।

फेकोफनका कानूनी सल्लाहकार दिलराज खनालले जलवायु अनुकुलन र यसको न्यूनीकरणको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तालीमका सहभागीहरुले जलवायु अनुकूलनको विषयलाई कार्यान्वयनमा ल्याउन स्थानीय सवाल पहिचान गरी सम्बन्धित निकायको सहभागीता बढाउनुपर्ने सुझाव दिएका थिए ।

यसैगरि स्थानीय जनप्रतिनिधिसँग अन्तक्र्रिया गर्नुपर्ने, वातावरणीय प्रभावको अध्ययन र छलफल गर्नुपर्ने, स्थानीय स्तरमा परेको नकारात्मक प्रभावको पहिचान गर्नुपर्ने उनीहरुको धारणा छ ।

स्थानीय क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी लिनुपर्ने, खानेपानी आयोजनामा एकीकृत योजना बनाएर जानुपर्ने, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने, जलवायु परिवर्तन जोखिमका नक्साङ्कन गर्नुपर्ने र प्राथमिकताको क्षेत्र निर्धारण गर्नुपर्ने लगायतका सुझाव पनि सहभागीले दिएका थिए ।

प्रकाशित मिति : 18 अक्टोबर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस