वातावरण संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह

काठमाडौँ, कात्तिक २ । वातावरण संरक्षणमा संवेदनशील भएर लाग्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आग्रह गरेको छ ।

फेकोफनको जिल्ला शाखा पाल्पाले आयोजना गरेको नीतिगत छलफल तथा दशैंको शुभकामना आदानप्रदान सम्बन्धी भर्चुअल कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले सरकारभित्रका केही कर्मचारीले व्यक्तिगत लाभको लागि सामुदायिक वनको दुरुपयोग गरिरहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सामुदायिक वनका उपभोक्तामाथिको अन्याय विरुद्ध लड्न महासङ्घ सधैं साथ रहन्छ ।”

५० प्रतिशत महिला नेतृत्वको लागि फेकोफन महत्वपूर्ण काम गर्दै आए पनि उपभोक्ता समूहमा महिला नेतृत्व कायम हुन नसकेको उहाँले बताउनुभयो । समूहमा महिला सहभागीता बढाउने कामलाई निरन्तरता दिनुपर्नेमा उहाँको जोड छ । फेकोफनका सचिव ठाकुर भण्डारीले वन्यजन्तुका कारण घरपालुवा जनावर र जङ्गली जनावर, खेतीपाती र जङ्गली जनावर र मानव र जङ्गली जनावरबीच द्वन्दको स्थिति सिर्जना भएको बताउनुभयो ।

“वन्यजन्तुबाट भएको क्षति बापतको राहतका लागि फेकोफनले क्षतिपूर्ति कोष स्थापना गरी केही जिल्लामा कार्यान्वयनमा ल्याइसकेको छ”, उहाँले जानकारी दिनुभयो । फेकोफनका केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज केपी श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर जान अनुरोध गर्नुभयो ।

फेकोफन पाल्पा जिल्लाका अध्यक्ष निरन्जन भुषालले वन ऐन २०७४ मा रहेको नीतिलाई समुदायस्तरमा लैजान महासङ्घले काम गरिरहेको जानकारी दिनुभयो । पाल्पा जिल्ला महासङ्घले आफ्नो जिल्लाभित्र रहेका उपभोक्ता समूहको समस्यालाई समाधान गरिरहेको उहाँले बताउनुभयो ।

फेकोफनका संस्थापक मिनप्रसाद न्यौपानेले महासङ्घका अगाडी विभिन्न अवसर र चुनौती रहेकाले त्यसको समाधान गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न उपभोक्ता समूहका पदाधिकारीहरुले आफ्ना समूहले भोग्दै आएका विभिन्न कठिनाईका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : 18 अक्टोबर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस