– मीना घोरसाइने
काठमाडौँ, कात्तिक ५ । जिल्लाको पाँचखाल नगरपालिकाको दुई वटा सामुदायिक वनभित्रको जमिन अतिक्रमण गरी घरटहरा बनाइएको, प्लटिङ्गसुरु गरिएको र २४ वटा घर टहरा निर्माण गरिएको पाइएको छ ।
त्यहाँका केही स्थानीयले सामुदायिक वनका नाममा रहेको जग्गा व्यक्तिले दर्ता प्रक्रिया सुरु गरेका छन् । नगरपालिकाको वडा नम्बर ४ जिरोकिलोस्थित बोक्से सामुदायिक वन उपभोक्ता समुहमा रहेको झण्डै १ सय २० रोपनी जग्गा दुर्गा ठकुरी, राजकुमार ठकुरी र राजन ठकुरीले अतिक्रमण गरेकाहुन् । उनीहरुले हालसम्म नापी नभएको, पुर्जा समेत नभएको कित्तानम्बर ८२९ नम्बरको ७१३ रोपनी १५ आना २ पैसा १ दाम जग्गामध्येको १ सय २० रोपनी आफ्नै दाबी गर्दै आएका छन् । सोही वनको रुख फँडानी गरेको अभियोगमा दुर्गा ठकुरीले जरिवाना समेत बुझाइसकेका छन् ।
२०७७ जेठ १२ गते सामुदायिक वन उपभोक्ता समुहले ठकुरी र श्याम धौभडेललाई जरिवाना तिराएको हो । बोक्से सामुदायिक वनमा अब उप्रान्त वन अतिक्रमण नगर्ने कागजमा ठकुरी र धौभडेलले हस्ताक्षर गरेको एक महिनामै ठकुरी परिवारले वन अतिक्रमण गरेको उपभोक्ताहरुको ठहर छ ।
ठकुरी दाजुभाईले २०२५ सालमा मुद्दा गरेर आफ्नो पक्षमा भएको जमीन हजुरबुबा राक्से र बाबु कृष्णबहादुर ठकुरीले दर्ता नगरेकाले समस्या भएको बताएका छन् । राक्से ठकुरीका नाती राजकुमार ठकुरीले उक्त जग्गा आफ्नो भएको प्रमाण भएकाले खनजोत गरी दर्ताको प्रकृया शुरु गरेको बताउनुभयो । २०३२ सालमा दर्ता नगरेको, पटक–पटक छुट जग्गा दर्ताका लागि खुल्ला हुँदा समेत दर्ता नभएको उक्त क्षेत्र वनमा दर्ता भएको छ ।
वनमा दर्ता भएको जमीन मेरो भन्दै अतिक्रमण गरेपछि उपभोक्ता समुहले वन कार्यालय गुहारेका थिए । ठकुरी परिवारले तिरो समेत तिरेको प्रमाण भएकाले आफ्नो भएको दावी गर्दै आएका छन् ।
उपभोक्ता समुहको सक्रियता भएपनि अतिक्रमण रोक्न नसकिएको बोक्से सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धरसमान तामाङ बताउनुहुन्छ । “अतिक्रमित जग्गामा बनाइएको घर हटाउन हामीले डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकलाई पत्राचार गरिसकेका छौँ, घरटहरा हटाउन कार्यालयले ३५ दिने सुचना जारी गरिसकेको छ”, उहाँले भन्नुभयो । अतिक्रमण गर्नेमा मण्डनदेउपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि रामशरण थापाले समेतले वन अतिक्रमण गरी घर बनाएको उहाँले जानकारी दिनुभयो ।
सोही वनभित्र अन्य व्यक्तिले पनि अतिक्रमण गर्ने र घर बनाएर खरिदविक्री गर्ने क्रम चलिरहेको छ । वनभित्र घर निर्माण गर्ने र विक्री गर्ने क्रम पटक–पटक भए पनि डिभिजन वन कार्यालयले चासो नदिएको आरोप उपभोक्ताहरुको छ । उपभोक्ता समुहका अध्यक्ष तेजप्रसाद न्यौपानेले पटक–पटक वन अतिक्रमण गर्नेहरुलाई हटाउन र अतिक्रमण रोक्न अभियान सुरु गरेपनि सम्भव नभएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटाले सामुदायिक वनका विवाद समुदायले नै समाधान गर्नुपर्ने भन्ने उद्देश्य राखेको बताउनुभयो । सकेसम्म मिलेर जानुपर्छ भने पनि यो क्षेत्रमा धेरै पटक प्रयास गर्दा पनि सफल नभएपछि वन कार्यालयमा पुगेको उहाँले बताउनुभयो । “वन कार्यालयले सामुदायिक वनको विवाद समूहबाट नै समाधान गर्नुपर्छ भनेर आफ्नो जिम्मवारीबाट नै पन्छिरहेको अवस्था छ”, उहाँ थप्नुहुन्छ, “हाम्रो प्रयासले समाधान भएको भए वन कार्यालयलाई किन गुहार्नुपथ्र्याे ?”
बोक्सेसँगै जोडिएको खानीखोला सामुदायिक वन उपभोक्ता समुहको पनि जमीन अतिक्रमण गरी १० वटा घर निर्माण भएका छन् । समूहका अध्यक्ष नवराज सापकोटाले अतिक्रमण रोक्न पटक–पटक प्रयास भएपनि सम्भव नभएको बताउनुभयो ।
वन कार्यालय पाँचखालका सहायक वनअधिकृत चिरञ्जिवी थापाले उक्त क्षेत्रमा वन अतिक्रमण भएको सूचना प्राप्त भएकाले वन कार्यालयले आवश्यक प्रक्रिया सुरु गरेको बताउनुभयो । व्यक्तिको प्रमाण नपुग्ने जग्गा दाबी गर्दैमा सरकारी वनदर्ता हुन नसक्ने उहाँको बुझाई छ । “हामीले दिएको म्यादभित्र घरटहरा नहटाउनेलाई वन ऐन २०७४ अनुसार कारबाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।