महासंघका पदाधिकारी र उपभोक्ता समुहबीच छलफल

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र नवलपरासीको चिसापानी सामुदायिक उपभोक्ता समुहका पदाधिकारीबीच वन र समुहमा भैरहेका काम कारवाही र समस्याबारे छलफल भएको छ ।

उपभोक्ता समुहको कार्यालय बर्दघाटको चिसापानीमा भएको छलफलमा सामुदायिक वनले गरेका काम र केन्द्रले उपभोक्ताहरुको हितका लागि चालिरहेका कदमबारे छलफल भएको थियो ।

त्यस अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव बिर्खबहादुर शाहीले प्राकृतिक श्रोत र वनमाथिको उपभोक्ताको अधिकार सुनिश्चत गर्न महासंघ निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले वन श्रोतको संरक्षण र उपयोगमा सरकारी स्तरबाट अवरोध हुन खोजे त्यो कुरा सामुदायिक वन उपभोक्ता महासंघलाई स्वीकार्य नहुने पनि प्रष्ट पार्नुभयो ।

यसैगरि महासंघका सचिव ठाकुर भण्डारीले स्थानीय उपभोक्ता समुहहरुले वन संरक्षणसँगै विकास र सम्वृद्दिमा पनि टेवा पुर्याएको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापनका नाममा सरकारले मनपरि गरेको र उपभोक्तालाई फसाउन खोजेको भन्दै त्यसको खारेजीको निर्णय कार्यान्वयनमा सरकारी कर्मचारी तहबाटै अझै आलटाल गरिएको बताउनुभयो ।

त्यस अवसरमा समुहका अध्यक्षसहितका पदाधिकारीसहितले उपभोक्ता समुहले गरेका काम कारवाही र उद्दमशिलताबारे जानकारी गराउनुभएको थियो । महासघका पदाधिकारीले समुहले सञ्चालन गरेको लेमन ग्रासबाट तेल उत्पादन गर्ने प्रवृधिको पनि अवलोकन गर्नुभएको थियो ।

चिसापानी सामुदायिक वन नेपालकै नमूना बन हो । यसले भारतसँग सिमाजोडिएका गाउँसम्मका समुदायलाई उपभोक्ता बनाएर सेवा दिँदै आएको छ । उपभोक्ताको हितकै लागि समुहले सिजनमा दक्षिण गाउँसम्मै डिपो समेत सञ्चालन गर्ने गरेको छ ।

 

प्रकाशित मिति : 13 नोभेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस