फेकोफन जुम्लाले २० गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने

जुम्ला, मङ्सिर ११ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, (फेकोफन) जुम्ला शाखाले उपभोक्ता अधिकार विरुद्धका सरकारी कदमको विरोधमा यही मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । महासंघले त्यसैदिन जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम समेत तय गरेको छ ।

सामुदायिक वनको अधिकार कटौती गरी सरकारले सामुदायिक वनका जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन र ओसारपसारमा हुँदै आएको नियन्त्रण र हस्तक्षेप हटाउन माग गर्दै ज्ञापनपत्र र धर्नाको कार्यक्रम तय भएको जिल्ला महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले जानकारी दिनुभयो । “हाम्रो माग पुरा नभएसम्म निरन्तर आन्दोलन गछौँ”, उहाँले भन्नुभयो । फेकोफनले पत्रकार सम्मेलन गरेर आन्दोलनको तालिका सार्वजनिक गरेको हो ।

विशेषगरी जटामसी संकलनमा गरिएको नियन्त्रण र हस्तक्षेप हटाउन महासंघले मङसिर ७ गते वन तथा वातावरण मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

ज्ञापनपत्रमा सकारका पछिल्ला कदमले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ र सो सम्बन्धी नियमावली २०७६ बमोजिम भएको साइटिस महासन्धिको अनुसूचीहरुमा समावेश भएका अधिकार हनन भएको महासंघले जनाएको छ ।

जटामसी लगायतका जडीबुटीको वन तथा भूसंरक्षण विभागबाट राजस्व लिई विभिन्न कम्पनी तथा व्यक्तिहरुलाई खासगरी हिमाली जिल्लाका सामुदायिक वनहरुमा समेत जडीबुटी संकलन इजाजतपत्र प्रदान गरिएका कारण सामुदायिक वन उपभोक्ता समूहको जडीबुटी तथा गैरकाष्ठ वन पैदावारमाथिको अधिकारमा समस्या परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 26 नोभेम्बर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस