
दाङ, मङ्सिर ११ । वन ऐन र नियमावली अनुसार रुख कटान तथा विक्रिवितरण र जडीबुटिमा लगाइएकोे रोक फुकुवा गर्दै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला शाखा दाङले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
दीगो विकास लक्ष्यप्रतिको प्रतिवद्धता, सामुदायिक वनको स्वायत्तता, जैविक विविधता संरक्षण, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई समेत ध्यानमा राखी दिगो वन व्यवस्थापन गर्ने, सामुदायिक वनले गर्ने उद्यम, पर्यापर्यटन तथा कृषि वनका कार्यक्रम गरी समृद्धिमा टेवा पुर्याउने, वैज्ञानिक वन व्यवस्थापन कार्यविध, २०७१ खारेज गर्ने, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुले चालु वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोकी त्यसमा रहेको बजेटलाई सामुदायिक वन व्यवस्थापन कार्यमा लगाउने माग महासंघको छ ।
महासंघको माग तत्काल सम्बोधन हुने दाङका जिल्ला प्रमुख अधिकारी यामबहादुर बुढामगरले बताउनुभयो । डिभिजन वन अधिकृत बिजयराज सुवेदीले महासंघको माग सम्बन्धित निकायसम्म पुर्याइदिने बताउनुभयो ।
डिभिजन वन अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै
त्यस्तै सामुदायिक वन उपभोक्ता समूहको सुशासन र क्षमता अभिवृद्धिका लागि वन सम्बन्धी सबै तहका निकायहरुले सामुदायिक वन उपभोक्ता महासंघ, नेपालसँग सहकार्य गर्ने, उद्यम सञ्चालनको लागि सामुदायिक वनमा लगाइएको दुरी तत्काल हटाउने, चुरे संरक्षण र व्यवस्थापन स्थानीय समुदायका नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्था गर्ने, मध्यवर्ती तथा संरक्षण क्षेत्रका सामुदायिक वन धार्मिक वन र कबुलियती वनहरुलाई राष्ट्रिय वन सरह अधिकार दिने र वन क्षेत्रको बजेट तथा कार्यक्रम लैङ्गगीक मैत्री बनाउनुपर्ने माग ज्ञापनपत्रमा छ ।
महासंघका केन्द्रिय उपाध्यक्ष भिमप्रकाश खड्काले पहिलो चरणको आन्दोलन अन्तर्गत सांकेतिक रुपमा आज ज्ञापनपत्र बुझाएको र माग सुनुवाइ नभए कडा आन्दोलनमा जान बाध्य हुने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता समूहको विधान र कार्ययोजनामा उल्लेख भएबमोजिम साधारण सभाले गरेको निर्णय अनुसार वन सम्बद्र्धनका कार्यहरु गर्नुपर्ने माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जिल्ला महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदीले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने क्रममा उहाँहरुसहित महासंघका केन्द्रिय सदस्य सावित्रा राना सहित जिल्ला महासंघका पदाधिकारीहरुको सहभागिता थियो ।