महिलाको क्षमता विकासबिना समानता सम्भव छैन : अध्यक्ष पाठक

काठमाडौँ, मङसिर १२ । महिलाको क्षमता विकासबिना महिला र पुरुषबीच समानता आउन नसक्ने सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो ।

महासङ्घले आज अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका महिला केन्द्रिय सदस्य प्रदेशमहासंघवाट २⁄२ जना महिला प्रतिनिधि र महिला जिल्ला अध्यक्षहरुका लागि भर्चुअल रुपमा आयोजना गरेको महिला नेतृत्व विकास प्रशिक्षणमा उहाँले महासंघ स्थापनाकालदेखि नै महिला र पुरुषको ५०÷५० प्रतिशत नेतृत्वलाई कार्यान्वनमा ल्याएको उल्लेख गर्नुभयो । “सामुदायिक वनको आन्दोलनमा समेत महिलाको अतुलनीय योगदान छ”, उहाँले भन्नुभयो । समाजमा हुने हरेक हिंसाको विरुद्धमा महासङ्घ कटिबद्ध भएर लाग्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

तालीममा महासङ्घका महासचिव बिर्खबहादुर शाहीले कार्यक्रम सञ्चालन गर्नुहुँदै कोभिड १९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले भर्चुअल तालीमको आयोजना गर्नुपरेको बताउनुभयो । तालिममा सहजिकरण गर्दै सचिव ठाकुरप्रसाद भण्डारीले नेपालमा वन क्षेत्रको विगतदेखि अहिलेसम्मको अवस्था उल्लेख गर्दै महासंघले उठाएका सवालहरुका बारेमा बताउनुभएको थियो । सो क्रममा उहाँले महासंघको सांगठनीक अवस्थाको वारेमा समेत सहजिकरण गर्नु भएको थियो ।

सो अवसरमा महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले महिला हिंसाको वर्तमान अवस्थाबारे उल्लेख गर्दै कार्यालयमा महिलामाथि हिंसा हुन नदिन व्यक्तिगत रुपमा सचेत रहन जरुरी रहेको बताउनुभयो ।

महासंघको द इन्टरनेसनल ल्याण्ड एण्ड फरेस्ट टेनियर फ्यासिलिटि (द टिएफ) परियोजनाका प्रमुख माधव ढकालले महिला नेतृत्व विकास तथा सुसासनको बारेमा प्रकाश पार्नुभएको थियो ।

महासंघको हरियो वन कार्यक्रम अन्तर्गत जेण्डर अफिसर सरस्वती श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रम आज र भोली २ दिन सम्म हुदै छ ।

प्रकाशित मिति : 27 नोभेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस