उपभोक्ताको स्वायत्ततामाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष पाठक

हेटौँडा, मङ्सिर १७ । सामुदायिक वनका उपभोक्ताको वन व्यवस्थापन गर्ने स्वायत्त अधिकारमाथि हस्तक्षेप गर्न नहुने र सामुदायिक वनको पहिचान कायम राख्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले बताउनुभयो ।

फेकोफन जिल्ला महासंघ मकवानपुरले मङ्गलबार आयोजना गरेको सामुदायिक वनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले सामुदायिक वनसँग सहकार्य गरेर जाने हो भने वन उद्यम सञ्चालनमा सहजता आउने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सामुदायिक वनमाथि लगाएको प्रतिवन्धका कारण वन उद्यम सञ्चालनमा समस्या उत्पन्न भएको छ ।” उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गरी वैज्ञानिक वन व्यवस्थापन तत्काल खारेज गर्नुपर्ने उहाँको माग छ ।

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु ढुंगानाले सामुदायिक वन उपभोक्ता समूहको अधिकारमाथि तीनै तहका सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । उच्चस्तरीय छानवीन समितिले तीनै तहका सरकार र सामुदायिक वन उपभोक्ता समूहलाई सहज हुने गरी प्रतिवेदन पेश गरेको भन्दै उहाँले प्रदेश सरकारसँग सहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । सामुदायिक वनमा प्रशस्त उद्यमको सम्भावना भएकाले समुदायसँग छलफल गरी समुदायमैत्री बनाउन प्रदेश मन्त्रालय प्रतिवद्ध रहेको उहाँको ठम्याइ छ ।

मकवानपुर जिल्ला महासंघका अध्यक्ष साधुराम चौलागाईंको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष चौलागाईंले मकवानपुरका दशवटै पालिकामा रहेका सामुदायिक वनका सम्भाव्यतालाई पहिचान गरी अगाडी जाने बताउनुभयो ।

प्रकाशित मिति : 2 डिसेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस