वन व्यवस्थापनमा सरकार असफल भएको छ : अध्यक्ष पाठक

काठमाडौँ, मङ्सिर १७ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठकले वन व्यवस्थापनमा सरकार असफल गएको बताउनु भएको छ ।

पारिवारिक नीजि वन संघ नेपाल (एफोन) ले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले सरकारले सामुदायिक वनका उपभोक्तालाई पहरेदारको रुपमा मात्र लिएको बताउनुभयो । उहाँले सरकारकै तर्फबाट सामुदायिक वनको क्षेत्राधिकार माथि हस्तक्षेप भएको र उपभोक्ताको अधिकार कुण्ठित गरिएको दावी गर्नुभयो ।
वनको संरक्षण उपभोक्ता, त्यसको श्रेय लिने सरकार, यो कसरी हुन्छ– उहाँको भनाइ थियो ।

नेपालको वन क्षेत्र ३९ प्रतिशतबाट ४४ प्रतिशत बनाउन सामुदायिक वनको विशेष योगदान भएको तथ्यांक सरकारसँगै भएपनि सामुदायिक वनमाथिको अधिकार कटौती हुँदै जानुले समुदायको अधिकारमाथि निरंकुशता हावी हुन खोजेको संकेत देखिएको अध्यक्ष पाठकले बताउनुभयो । “सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू गर्नु उपभोक्ताको अधिकारमा प्रत्यक्ष हस्तक्षेप गर्नु हो”, उहाँले भन्नुभयो ।
उहाँले सामुदायिक वनको वन पैदावारको विक्रीवितरणमा सरकारले रोक लगाएका कारण देशभरका सामुदायिक वनका वनपालेले तलब नपाइरहेको र गरीब जनताले थप समस्या भोग्नुपरेको बताउनुभयो । “के सामुदायिक वनको वन पैदावार उपभोगको अधिकार उपभोक्ताको होइन ?” अध्यक्ष पाठकले प्रश्न गर्नुभयो ।

उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गरि तत्काल वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्नुपर्ने उहाँको माग छ ।

समुदायको अधिकार खुम्च्याउन खोजे देशभरका उपभोक्ता सडकमा उत्रने चेतावनी पनि उहाँले दिनुभयो ।

प्रकाशित मिति : 3 डिसेम्बर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस