एक जनाको प्रयासले महिला हिंसाको अन्त्य हुन सक्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ, मङ्सिर २४ । एकजनाको प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले हिंसाको अन्त्यका लागि नागरिक समाज, अन्य गैरसरकारी संस्था, समाज र व्यक्ति स्वयमको प्रयास आवश्यक रहेको स्पष्ट पार्नुभयो । “कोभिड १९ को विषम परिस्थितिमा समेत महिलामाथि हुने विभिन्न प्रकृतिका हिंसा बढ्नु दुःखलाग्दो विषय हो”, उहाँले भन्नुभयो ।

समाजमा विद्यमान कु–प्रथाले नै हिंसाका घटनालाई प्रश्रय दिइरहेको उहाँको ठम्याइ छ । फेकोफनका अध्यक्ष भारती पाठकले हिंसाविरुद्धको आवाजलाई सशक्त रुपमा एकजुट भएर बुलंद पार्नु आवश्यक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “महिलाको ५० प्रतिशत सहभागीता र हिंसा अन्त्यका लागि फेकोफनले स्थापनाकालदेखि नै आवाज उठाउँदै आएको छ, तसर्थ समाजमा समानताको स्थिति नभएसम्म हामीले यो मुद्दा उठाइरहन्छौँ ।”

सो अवसरमा नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले महिला र पुरुषमा एकअर्काको अस्तित्व स्विकार्य नभएसम्म हिंसा कम नहुने बताउनुभयो । “देशमा भौतिक विकासको लागि धेरै नै खर्च गरियो, तर चेतनाको विकासमा खर्च गरिएन”, उहाँ थप्नुहुन्छ, “चेतनाको विकास नभएसम्म भौतिक विकासको कुनै पनि औचित्य रहँदैन ।”

चेतनशील व्यक्ति पदमा पुग्नु अहिलेको अनिवार्य आवश्यकता भइसकेको उहाँको दाबी छ । एनजिओ फेडेरेसनका अध्यक्ष जिताराम लामाले महिला मात्र नभई अहिले पुरुष पनि हिंसाको सिकार हुने गरेको भन्दै चेतनशील प्राणीले हिंसा गर्नै नहुने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले विशेषगरी सरकारी कार्यालयमा महिला र पुरुष एकै पदमा भए पनि महिला भएकै कारण समान सम्मानजनक व्यवहार नहुने गरेको दुःखेसो पोख्नुभयो । वन क्षेत्रमा लागेका महिलाहरु अझै पनि सुरक्षित नरहेको पुष्टि गर्दै महिलालाई पदका हिसाबले मात्र नभई पहुँचका हिसाबले पनि समानता हुनुपर्नेमा उहाँको भनाई छ ।

महिला अधिकारकर्मी डा. रेनु अधिकारीले महिलामाथि हुने हिंसाको प्रभाव उनीहरुमा मात्र सीमित नहुने बताउनुभयो । सो अवसरमा अधिवक्ता कुमारी खरेलले महिला हिंसा विरुद्ध विभिन्न कानून आए पनि त्यसको कार्यान्वयनको पाटो अझै फितलो रहेको बताउनुभयो ।

सो अवसरमा सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि, फेकोफन जिल्ला महासङ्घ, फेकोफन प्रदेश महासङ्घ र फेकोफनका राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरुको सहभागीता थियो । सहभागीहरुले सञ्चारमाध्यममार्फत हिंसाका घटनाहरु बाहिर आउन थालेपछि हिंसा बढेको अनुभूत हुन थालेको प्रतिक्रिया राखेका थिए ।

सो कार्यक्रमको अध्यक्षता अध्यक्ष भारती पाठकले गर्नुभएको थियो भने सञ्चालन महासचिव बिर्खबहादुर शाहीले गर्नुभएको थियो । अतिथिहरुको स्वागत गर्नुहुँदै उपाध्यक्ष भीमप्रकाश खड्काले फेकोफन लैङ्गिक हिंसाको अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहसचिव डा राधा वाग्ले, अधिवक्ता कुमारी खरेल र महिला अधिकारकर्मी डा रेनु अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो कार्यपत्रको सहजीकरण सचिव ठाकुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष पार्वता गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मिति : 9 डिसेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस