काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

नवलपरासी, मङ्सिर २४ । सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडी धर्ना बसेका छन् ।

काठ दाउरा विक्रि विरतरण रोकिदा उपभोक्ताहरुको अधिकार कुण्ठित भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको नेतृत्वमा सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा धर्ना दिएका हुन् । सरकारले जेठ १५ गतेको निर्णय मार्फत काठ दाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा रोक लगाउदा निर्माण सहितको कार्य रोकिएको उपभोक्ताहरुको भनाई छ ।

नवलपुरमा मात्रै करोडौं रुपैयाको काठ अहिले सामुदायिक वनहरुको घाटगद्दीमा कुहिने अवस्थामा पुगेको भन्दै तत्काल सरकारले लगाएको प्रतिवन्ध फुकुवा नहुने हो भने ति काठहरुको स्तर खस्कीदा राज्यको राजश्वमा समेत ठुलो असर पर्ने उनीहरुको भनाई छ ।

काठमा प्रतिवन्ध लगाउदा जाडो महिना शुरु भए संगै शितलहर शुरु हुदाँ समेत उपभोक्ताहरुलाई काठ दाउरा उपलब्ध गराउन नपाएको, पूर्ननिर्माण, घर निर्माण, विकास निर्माणको काम अवरुद्ध भएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय सदस्य सिता खड्काले बताउनुभयो ।

वन संरक्षणमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने सामुदायिक वनका उपभोक्ताहरुलाई काठ उपभोगमा रोक लगाउने सरकारको कदम स्वीकार्य नभएको जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले बताउनुभयो । सरकारले समयसमयमा ल्याउने उपभोक्ता विरोधी कार्यक्रमहरुको मारमा उपभोक्ताहरु परिरहेको भन्दै त्यसको लागि निरन्तर पैरवी भइरहेको बताउनुभयो ।

तत्काल सालको काठदाउरामा लगाइएको प्रतिवन्ध फुकुवा नभए देशभरका सामुदायिक वनका उपभोक्ताहरु आन्दोलित हुने उहाँले चेतावनी दिनुभयो ।

सरकारले जेठ १५ गते काठ दाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा रोक लगाउने निर्णय गरेको थियो । त्यसपस्चात साल बाहेकको काठहरुमा लगाइएको प्रतिबन्ध खुलेको भएपनि सालको काठमा लगाइएको प्रतिबन्ध अझै खुलेको छैन् ।

वनजंगल संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपभोक्ताहरुलाई उपभोगमा रोक लगाउन नहुने उनिहरुको भनाईछ । आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिन जिल्लाका विभिन्न स्थानबाट सामुदायिक वनका उपभोक्ताहरु भेला भएका थिए । पहिलो चरणको आन्दोलनमा विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने लगायतको कार्य भएको जिल्ला महासंघ नवलपुरका कोषाध्यक्ष हुमनाथ पाण्डेले बताउनुभयो ।

उपभोक्ताहरुले यो मागलाइृ तत्काल सम्बोधन नगरे देशभर सहर र सडक केन्द्रीत आन्दोलन थाल्ने धर्नामा सहभागी उपभोक्ताहरुले चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : 9 डिसेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस