सामुदायिक वनहरुको सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रम पोखरामा सम्पन्न

पोखरा, मङ्सिर २६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चितवन अन्नपुर्ण भूपरिधि क्षेत्रलाई समेटेर आयोजना गरेको सिकाई तथा अनुभव आदान प्रदान कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघको सचिव ठाकुरप्रसाद भण्डारीले महासंघको वर्तमान अवस्था, सवाल र भावी कार्यदिशाका बारेमा प्रष्ट पार्नुभयो ।

सामुदायिक वनहरुले गरेका कामहरुको उपलब्धि तथा सिकाईहरुको समीक्षा गर्नुहुँदै महासंघका कार्यकारी निर्देशक तथा हरियो वन कार्यक्रमका संयोजक डा. सिता अर्यालले भावी कार्यदिसाको लागी स्थानिय सरकार, डिभिजन वन कार्यालय र समुदायको भूमिबारे प्रष्ट पार्नुभयो । छलफलमा सामुदायिक वन व्यवस्थापनमा काम गर्दा हुने विभिन्न दुर्घटनाहरुको जिवन विमा गर्नु पर्ने, मानव वन्यजन्तुबाट हुने मानवीय, पशु तथा बालीनालीको बिमा गर्नु पर्ने, लोपन्नुख प्रजातीहरुको संरक्षण गर्नुपर्ने माग उपभोक्ताहरुको थियो ।

त्यस्तै उद्यम, पर्यापर्यटन विकास तथा कृषि वनलाई प्रभावकारी वनाई समृद्धीमा जोड दिने, सामुदायिक वनमा रहेका गरीब विपन्न वर्ग तथा महिलाहरुको जिविकोपार्जनको लागि घुम्तीकोषलाई नियमितता दिनुपर्ने, सामुदायिक वनमा यूवाहरुको सहभागीता वृद्धि गर्न यूवा लक्षित कार्यक्रम गर्ने, लैङ्गिग हिंसा अन्त्य गर्न संगठीत रुपमा लाग्नुपर्ने, विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने, गरेका कामहरुको अभिलेखीकरण व्यवस्थित रुपमा गर्नुपर्ने, सामुदायिक वनहरुको संस्थागत सुद्धिढीकरण र सुशासनलाई व्यवस्थित गर्ने, भए गरेका कामहरुको प्रचारप्रसार गरेर अन्य क्षेत्रलाई समेत यस काममा उत्प्रेरित गर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा गोरखा, लमजुङ, चितवन, नवलपुर, तनहुँ, स्याङ्जा र कास्की फेकोफनका अध्यक्षहरु, सामुदायिक वनका अध्यक्षहरु, स्थानीय सरकारका प्रतिनिधि, डिभिजनल वन अधिकृत केदार बराल लगायतले फेकोफनका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सो कार्यक्रम प्रदेश अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 11 डिसेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस