सामुदायिक वनले सञ्चालन गरेको पानी उद्योगलाई हरियो वनद्वारा रु तीनलाख हस्तान्तरण

हेम्जा, मङ्सिर २६ । फुर्केटारी सामुदायिक वन उपभोक्ता समुह, हेम्जाद्वारा सञ्चालित फुर्केटारी एक्वेफेयरको प्रर्वधनका निम्ती सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को हरियो वन कार्यक्रमले बिहीबार रु तीनलाखको सहयोग रकम हस्तान्तरण गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले सो वन उपभोक्ता समुहका अध्यक्ष उमानाथ त्रिपाठीलाई रकम हस्तान्तरण गर्नुहुँदै सामुदायिक वनमार्फत यस्ता उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महासंघ उद्यम, पर्यापर्यटन र कृषि वनलाई मुख्य प्राथमिकतामा राखेको छ ।” वनमार्फत युवालाई रोजगारी दिन सके वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाबाट बन्चित हुनुपर्ने उहाँले बताउनुभयो ।

सो कार्यक्रममा फेकोफन केन्द्रिय सदस्य सरिता कुकाल, प्रदेश अध्यक्ष कालिदास सुवेदी, प्रदेश सदस्य लक्ष्मी सुवेदी, जिल्ला अध्यक्ष बिश्वनाथ लामिछाने, हरियो वन कार्यक्रम प्रमुख डा. सिता अर्यालले उपभोक्ता समुहहरुबीच मनमुटाव राख्न नहुने प्रतिक्रिया जनाउनुभयो । उहाँहरुले निरन्तर रुपमा यो उद्योग नमुनाको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो कार्यक्रममा उद्योगको विषयमा फेकोफन पोखरा महानगर अध्यक्ष कमलमणी त्रिपाठीले आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत भिममाया त्रिपाठीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन रमा त्रिपाठीले गर्नुभएको थियो ।

सामुदायिक वन उपभोक्ता समुहका सबै उपभोक्ताहरुको उपस्थितिमा भएको हस्तान्तरण कार्यक्रम समापन पछि उद्योगको अवलोकन गर्ने काम सम्पन्न भएको थियो । उपभेक्ता समुहका सबै घरघुरीबाट उनीहरुको आर्थिक अवस्था अनुसार रु २५००० देखि रु पाँचलाखसम्म जम्मा गरी सो उद्योग सञ्चालन गरिएको हो । सामुदायिक वनले सञ्चालन गरेको यस्तो उद्योग नेपालकै पहिलो पानी प्रशोधन गर्ने उद्योग हो । यस उद्योगले दैनिक ३०००० लिटर पानी प्रसोधन गर्दछ ।

प्रकाशित मिति : 11 डिसेम्बर 2020, शुक्रवार
प्रतिक्रिया दिनुहोस