
दाङ, मङ्सिर २८ । सामुदायिक वन उपभोक्ता महासंघले गडवा १ बडहरामा रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहलाई पर्यापर्यटनको विकासका लागि शनिबार रु तीन लाख सहयोग गरेको छ ।
रकम हस्तान्तरण तथा काष्ठजन्य संग्रहालयको उद्घाटन कार्यक्रममा समूहका अध्यक्ष नवराज सुवेदीलाई फेकोफनका सचिव ठाकुर भण्डारी लगायत सांसदहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नुभएको हो । लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीले समूहले गरेको रचनात्मक कामको प्रसंसा गर्नुभयो । “सामुदायिक वनमार्फत पर्यटनको विकास गर्न सके विदेशी मात्र पर्यटक नभइै स्वदेशी पर्यटकलाई समेत आर्कषण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
वन जीवनदाताको रुपमा रहेकोले यसलाई दिगो उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कुलपनी सामुदायिक वन उपभोक्ता समूहले गरेको कामलाई थप सुझाव दिँदै वनको एउटा क्षेत्रमा काठजन्य संग्राहलय अर्को क्षेत्रमा सिमसार तथा पानी पोखरी र जलचरहरु राख्ने, त्यसैगरी अर्को क्षेत्रमा जंगली जनावर र चराचुरुङ्गीहरु राख्न सुझाव दिनुभयो । कुलपनी सामुदायिक वन उपभोक्ता समूहमा विभिन्न मूर्तिहरुको निर्माण गर्ने चित्रकार भिम विकलाई उहाँले गर्नुभएकोे श्रम तथा मिहिनेतलाई सबैले सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।
फेकोफनका सचिव ठाकुर भण्डारीले सामुदायिक वनहरुले उद्यम तथा पर्यापर्यटन गरेर देखाउन सक्ने भन्दै कुलपानी सामुदायिक वनले देखाएको उदाहरणप्रति खुसी व्यक्त गर्नुभयो । संघिय वन ऐन समुदायको पक्षका बनेको र लुम्बिनी प्रदेशको वन ऐनको ड्राफ्ट बनाएर छलफल भइरहेकाले सो ऐन समुदायको पक्षमा हुनुपर्नेमा उहाँको जोड छ । चुरे कार्यक्रम तथा वैज्ञानिक वन कार्यक्रमले जनतालाई निरङ्कुशतातर्फ लैजान खोजेको संकेत उहाँले गर्नुभएको थियो । उहाँले वैज्ञानिक वनले जैविक विविधता नष्ट गर्ने, केहि वर्षपछि नेपालमा साल वन सखाप हुने टिप्पणी गर्दै वैज्ञानिक वनको पक्षका लाग्नेहरु कोरोना भाईरस जस्तै भएको बताउनुभयो ।
संविधान सभा सदस्य रेश्मीराज नेपालीले पहिलेदेखी नै वैज्ञानिक वन व्यवस्थापनको विरोध गरेको तर कसैले नसुनेका कारण आज भयावह अवस्था सृजना भएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका सांसद अर्का सांसद ईद्रजित चौधरीले वैज्ञानिक वन व्यवस्थापनको नाममा विभिन्न चलखेल भएकोले सचेत रहन सबैलाई अनुरोध गर्नुभएको थियो ।
त्यहाँका अर्का सांसद अर्जुन कुमार श्रेष्ठले संसदमा वन ऐन आएपछि गहन रुपमा छलफल गर्ने बताउनुभयो । सामुदायिक वनको विकासको लागि मुख्य मन्त्री तथा पर्यटन मन्त्रीसँग विषेष पहल गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
गडवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले समुदायले राम्रो काम गरेकोले सहयोग गरिरहने बताउँदै अबदेखि परम्परागत माघी महोत्सव यहि ठाउँमा मनाइने जानकारी दिनुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले समुदायिक वनले उदाहरणीय काम गरेको बताउँदै वनका लागि आवश्यक बजेट लिन प्रस्तावनासहित गाउँपालिकामा आउन आह्वान गर्नुभयो ।
सो कार्यक्रममा कार्यक्रमको अध्यक्षता कुलपनी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष नवराज सुवेदीले गर्नुभएको थियो । जिल्ला महासंघका अध्यक्ष भुपेन्द्र सुवेदीले सवैलाई धन्यवाद दिनुहुँदै सामुदायिक वनले गरेका कामको जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश महासंघका सदस्य लालबहादुर भण्डारीले गर्नुभएको थियो ।
दुई चरणमा भएको सो कार्यक्रममा पहिलो चरणमा कुलपानी सामुदायिक वनले गरेको कामको स्थलगत अवलोकन र भ्रमण भएको थियो । भ्रमणमा काठ जन्य परम्परागत रुपमा प्रयोग भएका काठे मिल, ढिकि, वातो डुङ्गा, गाढा, विभिन्न पशुपन्छीका चित्र, सिमसार तथा पानी पोखरी, हरित पार्क, धार्मीक मठमन्दिर, समिल, माटामा विभिन्न भाडाहरु तथा दीगो वन व्यवस्थापनमा गरिएका कामहरको अवलोकन गरिएको थियो ।
सो अवसरमा जलवायु परियोजनाका मानबहादुर बिके, महासंघका हरियो वन कार्यक्रमका प्रमुख डा सीता अर्याल, पूर्व गाविस अध्यक्ष, सवडिभिजनल कार्यालय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।