उपभोक्ता समूहहरुले गरेको कामको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

बाँके, मङ्सिर २९ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले आयोजना गरेको तराई भूपरिधि क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहहरुले गरेको कामहरुको समीक्षा, उपलब्धि तथा सिकाइ आदानप्रदान कार्यक्रम आइतबार बाँकेमा सम्पन्न भएको छ ।

हरियो वन कार्यक्रमले गरेका कामको समीक्षा गर्नुहुँदै फेकोफनका सचिव ठाकुर भण्डारीले आगामी दिनमा डिभिजन वन कार्यालय र स्थानीय सरकारले हरियो वनले गरेको कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । “हरियो वनको सिकाइलाई निरन्तरता दिन सके वनमार्फत समृद्धिमा जान सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले वैज्ञानिक वन व्यवस्थापन घातक भएको भन्दै उच्चस्तरीय छानवीन समितिले बनाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य नन्द विश्वकर्माले हरियो वनले गरेको कामलाई उपभोक्ता समूह, डिभिजन वन कार्यालय र स्थानीय सरकार मिलेर निरन्तरता दिनुपर्ने बताउनुभयो । केन्द्रिय सदस्य मोहम्मद कर खाँले मानव वन्यजन्तु द्धन्दको न्यूनीकरणका लागि पहल गर्नुपर्ने, त्यसका लागि राहत कोष खडा गर्नुपर्ने र कार्ययोजना संशोधन गर्दा कम रकम लिएर बढी उपलब्धि हाँसिल गर्न डिभिजन वन कार्यालयले पहल गर्नुपर्ने, वन अतिक्रमण रोक्नुपर्ने, वन उद्यम सञ्चालनमा लाग्नुपर्ने लगायतमा जोड दिनुभएको थियो ।

अर्का केन्द्रिय सदस्य डिल्ली गिरीले हरियो वन कार्यक्रमले गरेको नमूना वनको अवधारणा, मानव वन्यजन्तु द्धन्द, आगलागी विरुद्धको जीवन बिमा, दीगो वन व्यवस्थापन कार्ययोजना, घुम्ती कोषबाट जिविकोपार्जनका लागि बनाएको कोष सह्रानीय रहेको भन्दै आगामी दिनमा पनि तिनीहरुलाई निरन्तरता दिनुपर्ने र भएका नीतिगत समस्याहरु डिएफओहरु मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
कन्चनपुरका डिभिजन वन अधिकृत अजयविक्रम मानन्धरले वैज्ञानिक वनको टुंगो नलाग्दासम्म वन कार्ययोजना नबनाउने प्रतिवद्धता जनाउनुभयो । नमुना सामुदायिक वन प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

बाँकेका डिभिजन वन अधिकृत राजु क्षेत्रीले फेकोफनले उठाएका मुद्दाहरु सकारात्मक रहेको भन्दै अबको दिनमा सामुदायिक वनको उपयोगमा जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा बाँके, बर्दिया, दाङ, कैलाली र कन्चनपुर जिल्ला महासंघका अध्यक्षहरु र ती जिल्लाका नमुना सामुदायिक वनका प्रतिनिधिहरुले आ–आफ्नो अनुभव र सिकाइ प्रस्तुत गरेका थिए ।
सो अवसरमा विभिन्न सममूहका प्रतिनिधिहरु, सरकारका प्रतिनिधिहरु, डब्लुडब्लुएफ र एनटीएनसीका प्रतिनिधिहले हरियो वनप्रतिको धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा हरियो वन कार्यक्रमले विगत पाँच वर्षमा तराई भूपरिधि क्षेत्रमा गरेको कार्यक्रमहरुको उपलब्धि र सिकाइहरु र भावी कार्ययोजनाका बारेमा महासंघको हरियो वन कार्यक्रमका प्रमुख डा सीता अर्यालले प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य लुम्बिनी प्रदेश महासंघका अध्यक्ष बसन्ती अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता बाँके जिल्ला महासंघका अध्यक्ष सावित्री पुनले गर्नुभएको थियो । उहाँले हरियो वन कार्यक्रमले गर्दै आएको क्रियाकलापलाई निरन्तरता दिँदै जाने बताउनुभयो । कार्यक्रमको सञ्चालन जिल्ला महासंघ बाँकेका सचिव शिला परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : 14 डिसेम्बर 2020, सोमवार
प्रतिक्रिया दिनुहोस