सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : मन्त्री नेपाल

काठमाडौँ, पुस ४ । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बागमती प्रदेश महासंघको प्रथम ऐतिहासिक परिषद्को उद्घाटन गर्नुहुँदै आज उहाँले वनको दीगो उपयोग हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्धिको ऐजेण्डा सरकारको मात्र होइन, जनताको पनि हो ।” समुदायलाई कमजोर बनाउने उद्देश्य सरकारको नरहेको उहाँले बताउनुभयो ।

फेकोफनका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका कच्चा पदार्थमार्फत प्रत्येक घरमा रोजगारीको सिर्जना गर्न सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो । सरकारको निर्णय व्यक्तिगत नहुने भएकाले उद्यमका विषयमा ठोस निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिक बलियो भए मात्र राज्य बलियो हुने उहाँको ठहर छ ।

सो अवसरमा मन्त्रालयका सचिव सिन्धु ढुङ्गानाले सामुदायिक वनको ५० प्रतिशत महिला नेतृत्वको अभ्यास उदाहरणीय रहेको बताउनुभयो । समुदायलाई हस्तान्तरण गरिसकेपछि वनको चोरी, तस्करीको भय नभएको उहाँले ठहर गर्नुभयो ।

नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकेको बताउनुभयो । सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनभन्दा दीगो वन व्यवस्थापनसँग जोड्न सके मात्र देशमा समृद्धि हाँसिल हुन सक्ने बताउनुभयो । फेकोफन केन्द्रका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका वन पैदावारको उपयोगबाट उद्यमशीलताको सिर्जना गरी युवालाई रोजगारीको अवसर प्रदान गर्नका लागि सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा फेकोफनका उपाध्यक्ष भीमप्रकाश खड्काले सामुदायिक वनका पदाधिकारीलाई सरकारले अयोग्य ठहर गर्नु सरकारको भूल हुने बताउनुभयो । बागमती प्रदेश महासंघका अध्यक्ष बिनोद सापकोटाले फेकोफनको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको बताउँदै सो माग तत्काल कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 19 डिसेम्बर 2020, शनिवार
प्रतिक्रिया दिनुहोस