सामुदायिक वनले सञ्चालन गरेको स–मिल उद्घाटन

काठमाडौँ, पुस ५ । हिले जलजले सामुदायिक वन उपभोक्ता समूह र ढुंगेपाखा सामुदायिक वन उपभोक्ता समूहले बनेपा नगरपालिका वडा नं २ घिमिरे गाउँमा सञ्चालन गर्न लागेको स–मिलको शनिबार उद्घाटन गरिएको छ ।

स–मिलको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले कानूनमा भएका उद्यमसम्बन्धी कमीकमजोरीलाई सुधार गर्न छलफल भइरहेको जानकारी दिनुभयो । “जनतालाई राहत पुर्याउने कुरामा मन्त्रालय सधैं सकारात्मक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का अध्यक्ष भारती पाठकले जनताको पक्षमा प्रदेश सरकारले वकालत गर्दै जानुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा विभिन्न जिल्लाका डिभिजन वन अधिकृतहरुले कानूनमा भएका त्रुटीलाई तत्काल सच्याएर अघि बढ्नु आवश्यक रहेको तर्क राखेका थिए ।

सो स–मिलका सञ्चालनका लागि बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु २० लाख लगानी गरेको छ भने दुई वटा वन उपभोक्ता समूहको रु छ लाख लगानी छ । उपभोक्ताहरुका लागि आवश्यक काठ सजिलै उपलब्ध गराउने उद्देश्यले स–मिल सञ्चालनमा ल्याइएको स्थानीय महासंघ बनेपाका अध्यक्ष बलराम घिमिरेले जानकारी दिनुभयो ।

स–मिल सञ्चालनमा आइसकेपछि सामुदायिक वनका उपभोक्ताहरुको जिविकोपार्जनमा सुधार आइ गरीबि न्यूनीकरण हुने आशा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा फेकोफन बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटा लगायत फेकोफन केन्द्रका पदाधिकारीहरु, बागमती प्रदेश महासंघका पदाधिकारीहरु, वन उपभोक्ता समूहका पदाधिकारीहरु र उपभोक्ताहरुको सहभागीता थियो ।

प्रकाशित मिति : 20 डिसेम्बर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस