सामुदायिक वनको माग सम्बोधन हुन्छ : प्रमुख लामा

मकवानपुर, पुस १२ । इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामाले गाउँपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहका मागको सम्बोधन हुने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले शुक्रबार आयोजना गरेको वातावरणीय भूक्तानी सम्बन्धि अन्तक्र्रिया कार्यक्रममा उहाँले सामुदायिक वनको अवस्था अनुसार उनीहरुको नवीकरण शुल्क निर्धारण गर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकार जहिले पनि मागेर मात्र पाइन्छ ।”

फेकोफनका केन्द्रिय अध्यक्ष भारती पाठकले समुदाय र सरकार मिलेर स्थानीयलाई अधिकारसम्पन्न गराउन र दायित्वबोध गराउन सधैं तत्पर रहनुपर्ने बताउनुभयो । “सामुदायिक वनका लागि आवश्यक पूर्वाधार स्थानीय सरकारले नै व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो । कतिपय ठाउँका स्थानीय सरकारले सामुदायिक वनको अधिकार कुण्ठित पार्ने काम गरेको उहाँले स्पष्ट पार्नुभयो ।

फेकोफनका उपाध्यक्ष भीमप्रकाश खड्काले स्थानीय सरकारलाई स्थानीय सामुदायिक वनको नीति बनाउन अनुरोध गर्नुभयो । सबै कुरामा सबै व्यक्ति विज्ञ नहुने भन्दै उहाँले लोकतन्त्रको स्थापनापछि सोचेअनुरुप नीति नबनेकोमा दुःख व्यक्त गर्नुभयो । महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वनको अधिकार स्थापित गर्न फेकोफनले निकै नै संघर्ष गर्नुभएको बताउँदै अहिले पनि सामुदायिक वनको अधिकारका लागि लडिरहेको बताउनुभयो ।

सचिव ठाकुर भण्डारीले सामुदायिक वनको इतिहासका बारेमा जानकारी दिनुहुँदै सरकारले एकद्धार प्रणालीबाट करको दायरा तोक्नुपर्ने बताउनुभयो । फेकोफनका कानूनी सल्लाहकार दिलराज खनालले वातावरणीय सेवाको भूक्तानीमा नीतिगत तथा कानूनी र संस्थागत संरचनाका बारेमा कार्यशाला प्रस्तुत गर्नुभयो ।

फेकोफन जिल्ला फेकोफनका अध्यक्ष साधुराम चौलागाईंले आफूले सिकेका कुरालाई व्यवहारमा उतार्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई अनुरोध गर्नुभयो ।

इलाका वन कार्यालय इन्द्रसरकोवरका प्रमुख रुपक ब्लोनले यहाँका ११ वटा सामुदायिक वनले मात्र हालसम्म नवीकरण गरेको जानकारी दिनुभयो ।

सो अवसरमा फेकोफनका कोषाध्यक्ष पार्वता गौतम, कार्यकारी निर्देशक डा सीता अर्याल, इन्द्रसरोवर गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्ष, फेकोफन मकवानपुरका पदाधिकारी, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु र फेकोफनका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : 27 डिसेम्बर 2020, आइतवार
प्रतिक्रिया दिनुहोस