आगलागी नियन्त्रण बाहिर

ताप्लेजुङ, पुस १६ । ताप्लेजुङको पाथिभरास्थित खिम्बु सामुदायिक वनमा आठ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । भौगोलिक विकटताका कारण आगो नियन्त्रणका लागि मङ्गलबार हेलिकप्टरको सहायताले पानी राख्दापनि हावाको बेग तीब्र रहेकाले नियन्त्रणमा आउन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । “हिजोसम्मको तथ्यांक अनुसार ७० हेक्टर वन क्षेत्र जलेर नष्ट भइसकेको छ”, उहाँले भन्नुभयो ।

सामुदायिक वन नजिक बस्ती नभएकाले हालसम्म मानवीय क्षति भने भएको छैन् । पाथिभरा मन्दिर पनि जोखिममुक्त रहेको उहाँले स्पष्ट पार्नुभयो । हालसम्म डढेलोको कारण भने नखुलेको ओझाले बताउनुभयो । उहाँका अनुसार खिम्बु सामुदायिक वनबाट लागेको डढेलोले हाल सुनपाथी सामुदायिक वनलाई छोइसकेको छ भने मयनपातल सामुदायिक वन समेत उच्च जोखिममा छ ।

दुर्लभ प्रजातिको मुख्य बासस्थान रहेको सो क्षेत्रमा हालसम्म कति वन्यजन्तुको मृत्यु भयो भन्ने तथ्यांक नआइसकेको ताप्लेजङका डिभिजन वन अधिकृत विरेन्द्र शाहले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “कोणधारी वन भएकाले आगो नियन्त्रण गर्न चुनौती छ ।” विशेषगरी स्थानीयले सो सामुदायिक वनको वन पैदावार उपयोग नगरेका कारण पनि डढेलो नरोकिएको उहाँले बताउनुभयो ।

आगलागी नियन्त्रणका लागि सशस्त्र आर्मी,  सुरक्षाकर्मी, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताहरु र स्थानीयवासीको सक्रियतामा हिजो त्यहाँका केही रुख काट्ने काम गरिएको उहाँले जानकारी दिनुभयो । अर्को सामुदायिक वनमा आगो नलागोस भन्नका लागि डिभिजन वन कार्यालय र स्थानीयको सक्रियतामा रुख काटिएको उहाँले बताउनुभयो । त्यहाँका सामुदायिक वनमा विशेषगरी लालीगुराँस र सल्ला प्रजातिका वनस्पति छन् ।

प्रकाशित मिति : 31 डिसेम्बर 2020, बिहिवार
प्रतिक्रिया दिनुहोस