सामुदायिक वनका वर्तमान सवाल र भावी कार्यदिशा विषयक छलफल

काभ्रे, पुस २१ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ बनेपा, बनेपा नगरपालिका र डिभिजन वन कार्यालय काभ्रेको संयुक्त आयोजनामा आइतबार सामुदायिक वनका वर्तमान सवाल र भावी कार्यदिशा विषयक छलफल सम्पन्न भएको छ ।

छलफलमा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले नगरस्तरीय वन ऐन बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले सामुदायिक वनमा रुख, जडीबुटी मात्र नभई सहरी क्षेत्रमा पर्यापर्यटनको प्रशस्त सम्भावना भएकाले सामुदायिक वनको अधिकार हनन नहुने गरी जानुपर्नेमा जोड दिनुभएको थियो । त्यसलाई सरकारी निकाय र स्थानीय निकायले हस्तक्षेप नगरी कार्ययोजनामा उल्लेख गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।

फेकोफन बागमती प्रदेश महासंघका अध्यक्ष बिनोद सापकोटाले सामुदायिक वनमा पर्यापर्यटन लगायतको विकास गर्दा छुट्टै व्यवस्थापन समिति नबनाई फेकोफनसँग सहकार्य गरेर जानुपर्ने बताउनुभएको थियो ।

सोही क्रममा बनेपाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुले सामुदायिक वनको नवीकरणका लागि फेकोफनले सहजीकरण गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा वन व्यवस्थापन गर्न कसरी नयाँ हिसाबले जान सकिन्छ, तत्कालीन अवस्थामा वनको व्यवस्थापन कसरी गर्न सकिन्छ र सामुदायिक वनका उपभोक्तालाई कसरी प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : 5 जनवरी 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस