पोखरा । सामुदायिक वनमै उद्यम सञ्चालन गर्दै आएको कास्कीको उपभोक्ता समुहलाई सामुदायिक वन उपभोक्ता महासंघले मेसिन हस्तान्तरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिकास्थित वनपाले सामुदायिक वनलाई लप्सी उद्योगमा आधुनिक प्रविधि मार्फत उत्पादनलाई थप व्यवसायिक बनाउन मद्धत पुग्ने गरी बिहिबार एक समारोहका बीच प्रिन्टिङ्ग मेसिन र लप्सी छोडाउने मेसिन प्रदान गरिएको हो ।
बुट्यान क्षेत्रलाई संरक्षण गरि लप्सी रोपेर वनपाले सामुदायिक वनले व्यवसायिक र उद्यम मार्फत उपभोक्ताको आयआर्जनमा महत्वपूर्ण योगदान गरेको छ ।
समुहलाई मेसिन हस्तान्तरण गर्दै सामुदायिक वन उपभोक्ता महासंघकी राष्ट्रिय अध्यक्ष भारती पाठकले अन्यत्र जस्तो घना र अव्वल काठको जंगल नभएपनि उजाड पाखो संरक्षण गरेर समुहले लप्सी उद्योग सञ्चालन गर्नु नमुनायोग्य काम भएको बताउनुभयो ।
वन श्रोतलाई सदुपयोग गरेर उद्यमशिलता अपनाउन सके गरिबी न्यूनीकरणमा योगदान पुग्ने र सम्वृद्धिमा समेत त्यसले सघाउने बनाउँदै अध्यक्ष पाठकले वनपाले उपभोक्ता समुहको काम अरु समुहहरुका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।
त्यस अवसरमा फेकोफन गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वनपाले सामुदायिक वनले सञ्चालन गरेको लप्सी उद्योगले उपभोक्ता समुहहरुको व्यवसायिक सोच र सम्भावनालाई उजागर गरेको बताउनुभयो ।
यस्तै हरियो वन कार्यक्रमकी टिम लिडर डा। सिता अर्यालले समुहको उद्यमशिल सोच र व्यवहारले परिणाम सकारात्मक देखिएको भन्दै प्रसंशा गर्नुभएको थियो ।
समुहका कोषाध्यक्ष चुडामणी पौडेलले लप्सीको उत्पादन राम्रो हुने गरेको र उद्योग सञ्चालन गरी सामुदायिक वन तथा उपभोक्ताहरुको आयश्रोत वृद्धि गर्न सफल भएको जानकारी गराउनुभएको थियो ।
१६ हेक्टर क्षेत्रफलमा फैलिएको वनपाले सामुदायिक वनले वैकल्पिक आयको बाटो खोज्दै २०७१ सालबाट उद्यमशिलताको बाटो अवलम्वन गरेको हो । जिल्ला वन कार्यालय कास्की, हरियो वन कार्यक्रम तथा फेकोफनसमेतको सहयोगमा लप्सी उद्योग स्थापना गरि समुहले उत्पादन र विक्रि वितरण समेत गर्दै आएको छ ।
उद्यमशिलतासँगै आयआर्जन र गरीबी न्यूनीकरण, सचेतना तालिमहरु, विपन्नलाई सहयोग, समाजिक विकास लगायत वनको संरक्षण, प्रवद्र्धन एवं उपयोगका दृष्टिले उत्कृष्ट बनेको यो सामुदायिक वनले गणेशमानसिंह राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेको छ ।
उद्यमी सामुदायिक वनलाई उपकरण हस्तान्तरण
प्रकाशित मिति : 8 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस