सम्वृद्धिका लागि वन र कृषिलाई जोड्नुपर्छ-अध्यक्ष पाठक

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले सम्वृद्धिका लागि वन र कृषिलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको छ । कास्कीको पोखरा महानगरपालिका हेम्जास्थित फुर्केटारी सामुदायिक वनले स्थापना गरेको मिनरल वाटर उद्योगको अवलोकन गर्दै अध्यक्ष पाठकले उद्यमशिलताले उपभोक्ताको मात्रै नभएर देशकै सम्वृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
फुर्केटारी सामुदायिक वन उपभोक्ता समुहद्वारा सञ्चालित पानी उद्योग र समुहको एकता सबैकालागि गौरवको बिषय भएको उल्लेख गर्दै अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता समुहहरुले संरक्षणसँगै आयआर्जनमा पनि धेरै काम गरेको बताउनुभयो ।
पानी उद्योगलाई अझ अघि बढाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष पाठकले वन र कृषिलाई जोडेर थप उद्यम तथा व्यवसाय अघि बढाउन वन र कृषि मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा जोडदिनुभयो ।
आत्मनिर्भर हुनेगरि उद्योग र आयआर्जनका काम गरेको, सुशासन तथा नेतृत्व विकासमा अब्बल देखिएको भन्दै उहाँले समुहको एकता र सहकार्यको प्रंशंसा समेत गर्नुभएको थियो ।
कार्यक्रममा समुहका पदाधिकारी तथा सदस्यहरुले आफुहरुले गरेका काम र पानी उद्योगमा भैरहेको लगानी तथा आगामी योजनाबारे जानकारी दिनुभएको थियो ।
यसैगरी फेकोफन गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला अध्यक्ष विश्वनाथ लामिछाने, हरियो वन कार्यक्रम प्रमुख डा। सिता अर्याल, अस्मिता अधिकारी लगायतले उपभोक्ता समुहले नमुनायोग्य काम गरेको बताउँदै निरन्तर रुपमा आफ्ना कामलाई अघि बढाउन सुझाव दिनुभएको थियो ।
फुर्केटारी समुहले सञ्चालन गरेको पानी उद्योग नेपालकै नमुना हो । त्यसैले  उद्योगको प्रर्वधनका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, हरियो वन कार्यक्रमले आर्थिक सहयोग समेत गर्दै आएको छ ।
उपभेक्ता समुहका सबै घरघुरीबाट शेयर राखेर उद्योग सञ्चालन गरिएको हो । सामुदायिक वनले सञ्चालन गरेको पानी उद्योगले दैनिक ३० हजार लिटर पानी प्रसोधन गर्दछ । मुलको पानी प्रशोधन गरेर विदेश निर्यात गर्ने योजना सामुदायिक वनको छ ।

प्रकाशित मिति : 8 जनवरी 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस