
लमजुङ । लमजुङको बेशीशहर र सुन्दर बजार नगरपालिकाले छिट्टै वन ऐन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघको अगुवाईमा आयोजना गरिएको स्थानीय वन ऐन निर्माण सम्वन्धी छलफलमा दुबै नगरपालिकाले समुदायको हित हुने गरि वन ऐन बनाउने प्रतिवद्धता जनाएका हुन् ।
छलफलमा बेशीशहरमा नगरप्रमुख गुमानसिंह अर्याल, सुन्दरबजारका प्रमुख जनकराज मिश्र र उपप्रमुख ज्ञानु शाह लगायत दुबै नगरपालिकाका वडाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो ।
छलफल कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले संघीय वन ऐन बनिसकेको र प्रदेशस्तरमा बन्दै गरेकोले स्थानीय तहमा पनि वन ऐन निर्माण हुनु संघीयता कार्यान्वयनको पाटो भएको बताउनुभयो । उहांले उपभोक्ता र समुदायको हित हुने गरि वन ऐन निर्माण गर्न पालिकाहरुलाई आग्रह समेत गर्नुभयो ।
डिभिजन र सव डिभिजन वन कार्यालयहरु खारेज गरेर स्थानीय तहमा पालिकाहरुको नेतृत्वमा वन कार्यालय स्थापना गर्नुपर्नेमा पनि उहांले जोडदिनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघको अगुवाईमा सिप्रेट नेपाल र ग्रीन फाउण्डेसन नेपाल समेतको सहकार्यमा भएको छलफलमा जनजाती महासंघका अध्यक्ष जगत बराम,सिप्रेटका अध्यक्ष डाक्टर पासाङ शेर्पाले पनि समुदायको हित र वन ऐनको आवश्यकताबारे आआफ्ना धारणा राख्नुभएको थियो ।