वन डढेलोले व्यापक नोक्सानी, नियन्त्रणमा सक्रिय हुन र मानवीय क्षति भए बिमा दावी गर्न फेकोफनको अाग्रह !!

काठमाण्डोै । यो वर्ष विगतको तुलनामा धेरैजसो जिल्लामा वनमा डढेलोले क्षति पुर्याएको छ । गर्मीयाम सुरु भए लगतै वन क्षेत्रमा आगलागी हुने र त्यसबाट ठूलो मात्रमा जनधनको क्षति हुने गरेको अवस्थामा यस बर्ष पनि वन डढेलोबाट धेरै जिल्लाहरुमा जनधनको क्षति भइरहेका खवर दिनदिनै बढिरहेका भन्दै सामुदायिक वन उपभोक्ता महासंघले चिन्ता जाहेर गरेको छ ।

अन्य महिना भन्दा फागुन, चैत्र र बैशाख महिनामा धेरै वन डढेलो हुने गरेको हुँदा यस अवधिमा सवै वन उपभोक्ताहरु सचेत हुुनु पर्ने भन्दै महासंघले वन डढेलो हुन नदिन र भइैहाले पनि त्यसलाई नियन्त्रण गर्ने र सम्भावित ठुल्ठुला क्षतिहरु हुनवाट जोगाउनु हामी सबैको कर्तब्य भएको जनाएको छ ।

महासंघका अध्यक्ष भारती पाठकद्वारा जारी विज्ञप्तिमा सामुदायिक वन उपभोक्ता समूहहरुलाइ आ—आफनो क्षेत्रमा आफै र विभिन्न सरोकारवाला संघ संस्थाहरुसंग समन्वय गरी सचेतना अभियान संचालन गर्न पनि अनुरोध गरिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले आर्थिक बर्ष २०७७।७८ को लागि २०७७ माघ १ गते देखि २०७८ असार ३१ गते सम्मको लागीे सबै जिल्लाका सवै सामुदायिक वन उपभोक्ताहरुको लागि बनमा लागेको आगोवाट हुने मानविय क्षति वा वन्यजन्तुको आक्रमणबाट हुने क्षति (घाइते वा मृत्यु) मा विमा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विमा कम्पनीले उपलब्ध गराएको विमा पोलिसि अनुसार सामुहिक विमा लागु भए सवै जिल्ला भरिका जुनसुकै सामुदायिक वन उपभोक्ता समुहका कुनै पनि उपभोक्ता वनको आगो निभाउन जॉदा वा वन्य जन्तुको आक्रमणबाट घाइते, अपाङ्ग वा मृत्यू भएमा उनीहरुले क्षति अनुसारको क्षतिपुर्ति पाउने विज्ञप्तिमा उल्लेख छ।

यस बर्षको ब्यवस्था अनुसार सामुहिक विमाबाट प्रति जिल्लामा बढीमा १५ जना सम्मले क्षतिपुर्ति पाउने र विमा रकमको अधिकतम सिमा प्रति जिल्ला पन्ध्र लाखसम्म अर्थात प्रति ब्यक्ति रु एक लाख मात्र हुने जानकारी महासंघले दिएको छ।

पिडितहरु मध्ये घाइते मात्र भएमा घाइतेको औषधी उपचारको लागि प्रति ब्यक्ति रु दश हजार, अपाङ्ग भएकाले प्रतिशतको आधारमा र मृत्यु भएमा मृतकको आफन्तले रु एक लाख विमा कम्पनीवाट प्राप्त गर्ने महासंघले जनाएको छ ।

महासंघले यसरी सामुहिक विमाको व्यवस्था गरेकोे हुदा यदि यो अबधिमा बन डढेलो वा बन्यजन्तुबाट केहि मानविय क्षति हुन गएमा घटना घटेकै दिन वा भोलिपल्ट यथासक्य छिटो सो को जानकारी महासंघ सचिवालयको फोन नं ०१६६१६४२७ मा गराउनु हुन पनि अनुरोध गरिएको छ । अहिले देशभर वनजंगलमा डढेलो फैलिँदा व्यापक नोक्सानी भएको छ ।

वन विभागका अनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भैरहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा उच्च हो । विभागका अनुसार पश्चिम तराई, मध्य तराई र पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ ।

प्रकाशित मिति : 26 मार्च 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस