सरकारले वन पैदावार खुला नगरे आन्दोलनमा जाने फेकोफन बागमति प्रदेशको निर्णय

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ताहरुको हक अधिकार, वनको दिगो व्यवस्थापन र वनपैदावारको सहज उपयोगका लागि महासंघले निरन्तर संघर्ष गर्नुपरेको बताउनुभएको छ ।

फेकोफन बागमति प्रदेशको आठौ बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी अध्यक्ष पाठकले अहिले पनि सामुदायिक वन र उपभोक्ताहरुको अधिकार प्रयोगमा सरकारी पक्षबाट बाधा अवरोध आउने गरेको बताउनुभयो ।

सिन्धुलीमा भएको बैठकमा उहांले प्रदेश र स्थानीय तहमा बन्ने वन नीतिलाई समुदायको हित अनुकुल हुने गरी तयार गर्न महासंघका हरेक संरचनाहरु सक्रिय हुनुपर्नेमा जोडदिनुभयो ।

अध्यक्ष पाठकले सरकारकै कारण वन पैदावार खुला हुन नसक्दा उपभोक्ताले दैनिक काममा पनि प्रयोग गर्न नपाएको, डढेलोबाट काठ सहितको वन श्रोतमा धेरै क्षति पुगेको तर सरकारले जंगलमा थुपारिएका काठ पनि निकाल्न नदिएकोले समस्या भएको बताउनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख खडगबहादुर खत्रीले सामुदायिक वन र समुदायको अधिकारका लागि स्थानीय तहहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

महासंघका वागमति प्रदेश अध्यक्ष विनोद सापकोटाले अहिले पनि सरकारको असहयोगले वनश्रोतको उपयोग गर्न उपभोक्ताहरु बन्चित भएको बताउंनुभएको थियो ।

बैठकले सरकारले काठ सहितको वन पैदावार सहज रुपमा नखुलाए आगामी वैशाखदेखि आन्दोलनमा जाने निर्णय गरेको छ ।

उपभोक्ताको हक अधिकारमा सरकारी उदासिनता विरुद्ध महासंघ केन्द्रसंग समन्वय गरेर आन्दोलनमा जाने निर्णय भएको प्रदेश अध्यक्ष विनोद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले वन पैदावार तत्काल खुला गर्न, उद्यम विकासमा सहज वातावरणमा सरकारले सहयोग गर्नुपर्ने, सामुदायिक वनका कार्ययोजनाहरु तत्काल परिमार्जन गर्नुपर्ने, कानूनी झण्झट हटाउनुपर्ने लगायतका माग पनि गरेको छ ।

प्रकाशित मिति : 3 अप्रिल 2021, शनिवार
प्रतिक्रिया दिनुहोस