सरकारका कारण सामुदायिक वनहरू समस्यामा छन-अध्यक्ष पाठक

बाग्लुङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रीय अध्यक्ष भारती पाठकले राज्य पुर्नसंरचना भएपनि वन क्षेत्रको पुर्नसंरचना हुन नसकेको बताउनु भएको छ। महासंघको बाग्लुङ जिल्लाको निसीखोला स्थानीय महासंघको प्रथम परिषदको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष पाठकले सरकारकै कारण सामुदायिक वन उपभोक्ता समूहहरू समस्यामा परेको बताउनुभयो । समुदायले संरक्षण गरेको वन उपभोग गर्ने बेला सरकारले प्रतिबन्ध लगाउँनु जनताको अधिकार र लोकतन्त्रको मर्म विपरित भएको उहाँको भनाई छ ।

सरकारले पहाडी क्षेत्रको वनमा पनि ढलेको रुख निकाल्न नदिँदा डढेलोले करोडोैको काठ नष्ट भएको पनि अध्यक्ष पाठकले बताउनुभयो ।

समुदाय माथि भएको अन्यायको विरुद्ध महासंघ शसक्त हिसावले अगाडि बढ्ने बताउँदै उहाँले अान्दोलनको तयारी भैरहेको पनि जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष तारानाथ शर्माको बिशिष्ट आतिथ्यता र स्थानीय महासंघको अध्यक्ष चन्द्रमाला बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा केन्द्रिय सदस्य प्रेम लामिछाने, गण्डकी प्रदेश महासंघका अध्यक्ष कालीदास सुवेदी, जिल्ला अध्यक्ष राज थापा लगायत  निसीखोला गाउँपालिकाको ४५ वटा सामुदायिक वनका अध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुतिका साथै पालिकाभित्रका सामुदायिक वन उपभोक्ता समूहको समस्याको बिषयमा व्यापक छलफल भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथी शर्माले वन कार्यालयले स्थानीय सरकारलाई वनबाट टाढा राख्न खोजेको बताउनु भएको थियो । उहाँले अव स्थानीय सरकारले पनि स्थानीय वन ऐन बनाई समुदायलाई सेवा दिने उहाँको भनाई छ । उहाँले वन क्षेत्रमा आएको बजेट स्थानीय सरकार हुँदै समुदायमा जानुपर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : 19 अप्रिल 2021, सोमवार
प्रतिक्रिया दिनुहोस