सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, उदयपुरको भवन क्वारेन्टिन बनाउन दिईयो

काठमाण्डौ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, उदयपुरले आफ्नो कार्यालय भवनसंगै रहेको हल कोभिड नियन्त्रणको काममा प्रयोग गर्नका लागि सरकारलाई सहयोग गरेको छ ।

महासंघ उदयपुरले आफ्नो हल जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गर्न दिएको हो ।

कोभिड रोकथाम हुनासाथ फिर्ता हुने गरि हाल महासंघको हल वैशाख २५ गतेदेखि उपयोग गर्न दिईएको महासंघका जिल्ला अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले सहयोगका लागि सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल उदयपुरलाई पत्र लेखेर आग्रह गरेको थियो ।

कोभिड १९ नियन्त्रणमा सामुहिक हातेमालो गर्ने महासंघ केन्द्रको निर्णय अनुसार जिल्ला महासंघले कोरोना रोकथाममा भवन उपलब्धसंगै अन्य सहयोग र सहकार्य गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले देशभर रहेका सामुदायिक वन उपभोक्ता समूह र महासंघका १४ सय भन्दा बढी भवनहरू कोरोना नियन्त्रणमा उपयोग गर्ने गरि सरकारलाई आवश्यक परे सघाउने निर्णय गरिसकेको छ ।

यसैगरी महासंघले उपभोक्ताहरूमा जनचेतना जगाउने लगायतका काम गरिरहेको महासंघका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7 मे 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस