अक्सिजन सिलिण्डर र प्लान्ट निर्माणका लागि फेकोफनको कोष

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघले कोभिड १९ महामारी नियन्त्रण, रोकथाम र उपचार तथा राहत अभियानलाई तिव्र पारेको छ ।

यसैक्रममा महासंघ उदयपुरको अगुवाईमा अक्सिजन सिलिण्डर खरिद, प्लान्ट जडान, पिपिई तथा अन्य उपचारमा अत्यावश्यक सामाग्री खरिदका लागि सहयोग कोष स्थापना गरिएको छ ।

महांसंघ जिल्ला शाखा तथा उपभोक्ता समूह र वन कार्यालयका प्रतिनिधिसहितको उपस्थितिमा बसेको बैठकले कोभिड उपचारका लागि अत्यावश्यक सामान जोहो गर्न नगद सहयोग गर्ने र त्यसका लागि कोष खडा गर्ने निर्णय भएको हो ।

कोषमा जिल्लाका सबै सामुदायिक वन उपभोक्ताहरूलाई गरिबी न्युनिकरण तर्फको दस प्रतिशत रकम सहयोग गर्न अनुरोध गरिएको छ ।

गतबर्ष महासंघले यसैगरि रकम संकलन गरि कोरोना नियन्त्रण र उद्दार तथा राहतमा करिव डेढ करोड रूपैयाभन्दा बढी सहयोग गरेको थियो ।

यसैगरि उदयपुरको बैठकले कोभिडबाट निधन भएकाहरूको दाहसंस्कारका लागि अावश्यक काठ दाउरा जोहो गर्ने निर्णय पनि गरेको फेकोफन उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 19 मे 2021, बुधवार
प्रतिक्रिया दिनुहोस