काठमाण्डोै ।
सामुदायिक वन उपभोक्ता महासंघले अहिलेको विषम् परिस्थितिमा सामुदायिक र नागरिकप्रतिको दायित्व पूरा गर्ने काममा अग्रसर हुन राजनीतिक दलहरुलाई हार्दिक आव्हान गरेको छ ।
देशभरका सामुदायिक वन उपभोक्ता समुहहरूको छाता संगठन फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले एक विज्ञप्ति जारी गरी कोभिड महामारी नियन्त्रणमा सहकार्य गर्न पनि अपिल गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ- “नेपाली जनताले गरेका बलीदानीपूर्ण जनआन्दोलन र राजनीतिक दल एवं नागरिक समाजको योगदानबाट प्राप्त नेपालको संविधानले आपसी सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ । त्यसैले आपसी सहिष्णुता, सदभाव र समृद्धिका लागि राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहन्छ ।”
विगत केही समयदेखि विभिन्न राजनीतिक दलहरुमा समान राजनीतिक विचारधारा र दर्शनमा प्रतिवद्ध नेतृत्व तहबीच नै आपसी सहिष्णुता र सद्भाव कायम हुन नसकी राजनीतिक अस्थिरताको सिर्जना भएको र यसबाट नेपालको संविधानले परिलक्षित गरेको समृद्धिको मार्ग अवरुद्ध हुन सक्ने अवस्था सृजना भएको उल्लेख गर्दै महासंघले भनेको छ- यसप्रति हामी समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन गर्ने स्थानीय समुदायहरु र यससम्बद्ध नागरिक समाजहरुको गंभीर रुपमा ध्यानाकर्षण भएको छ ।”
नेपालको राजनीतिक दल सम्बन्धी कानूनले राजनीतिक दलहरुलाई मुलुकको विकासको योजना जनसमक्ष ल्याउने, समृद्धिमा योगदान गर्ने, राजनीतिक संस्कारको विकासका लागि उत्प्रेरक प्रतिनिधिको रुपमा काम गर्ने, समन्वयात्मक र सहमतीय संस्कृतिको विकास गर्ने, सद्भाव र एकता कायम गर्ने, लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने, शान्ति र अहिंसालाई उत्प्रेरित गर्नुपर्ने जस्ता दायित्व र कर्तव्यहरु निर्धारण गरेकोले पनि सबै दलको नेतृत्व तहलाई विवाद सिर्जना गर्ने काममा नलागी दलीय दायित्वप्रति प्रतिवद्ध रहन अाग्रह गरिएको छ ।
विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण नेपालमा पनि जनताहरु अक्रान्त भइरहेको अवस्थामा प्रभावित जनसमुदायले महामारीबाट मुक्तिका लागि राजनीतिक दल र यसका नेतृत्व तह बीच एकता, शान्ती, सदभाव, सहिष्णुता, सहमति, समन्वय र सहकार्यको अपेक्षा गरेका महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैले महामारीका समयमा राजनीतिक दल र यसका नेतृत्व तह बीच एकता र सहकार्य एक अपरीहार्य आवश्यकता भएको र दलहरुले जनतामा नैराश्यता आउन नदिई आत्मबल बढाउन र तत्काल प्रभावकारी औषधी उपचार र खोपको व्यवस्था गर्नुपर्नेमा जोडदिईएको छ ।
दलहरुमा रहेका जिम्मेवार नेतृत्व तहबीच निरन्तर रुपमा भइरहने निरर्थक र स्वार्थ केन्द्रित आन्तरित द्वन्द्व, विवाद, नागरिक दायित्वप्रतिको बिचलन र असहिष्णुता जस्ता कार्यहरुले राष्ट्रियस्तरदेखि जनसमुदायस्तरसम्म पनि द्वन्द्व, विवाद, असहिष्णुता र सामाजिक सद्भाव विथोलिने जस्ता कार्यहरु भै यसले नागरिकमा नैरास्यता एवं समाज र समग्र राज्यमा समेत गम्भीर समस्या सृजना गर्ने हुँदा दलहरुको नेतृत्व तहले आपसी स्वार्थ केन्द्रित निरर्थक द्वन्द्व तथा विवाद अविलम्ब परित्याग गरी नेपालको संविधान र कानूनले प्रदान गरेको दायित्व निर्वाह गर्ने गरी एकतावद्ध रुपमा अगाडि बढ्न लागि हार्दिक आव्हन गर्दछौं ।-अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
स्थानीय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन गर्ने स्थानीय समुदाय र यस सम्बद्ध नागरिक समाजले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलन, नयाँ संविधानको तर्जुमा र कार्यान्वयन, आवधिक निर्वाचन र राज्यका नीति तथा कानून र योजनाहरुको प्रभावकारी कार्यान्वयनमा सबै राजनीतिक दलहरुसँग निरन्तर रुपमा समन्वय र सहकार्य गर्दै आएको स्मरण गर्दै महासंघले सबै दलका नेतृत्व तहहरुलाई आपसी स्वार्थ केन्द्रित निरर्थक द्वन्द्व तथा विवादहरुलाई अविलम्ब रुपमा परित्याग गरी संबैधानिक, नागरिक र सामाजिक तथा सामुदायिक दायित्वप्रति जवाफदेही हुनका लागि हार्दिक आव्हान समेत गरेको छ ।